सविन घिमिरे , विराटनगर- कुनै समयमा विभिन्न चोक–चौरस्तामा राजामहाराजा तथा नेताको शालिक देख्न पाइन्थ्यो । हाल धेरैजस्तो स्थानमा त्यस ठाउँलाई झल्काउने विभिन्न मूर्ति तथा स्तम्भ देख्न पाइन्छ । प्रदेश न १ को धेरैजसो ठाउँमा सो ठाउको विशेषता झल्काउने किसिमको स्तम्भ बनाउने होड नै चलेको छ । विराटनगरको रोडशेष चोकको स्तम्भबाट सुरु भएर दुहवीको फुटबल स्तम्भ, धरानको भानुचोकमा रहेको भानुभक्त आचार्यको सालिक हुँदै भेडेटारमा रहेको इमानसिंह चेम्जोंगको पूर्ण कदसहितको र शंखको स्तम्भले पहाडको स्तम्भको लहर सुरुवात गर्दछ । भेडेटारमा भेडाको स्तम्भ पनि निर्माण गरिएको छ । त्यस्तै धनकुटामा एभोकाडो, कागतेमा कागती, हिलेमा तोङ्बाको भाँडो, सिधुवामा फूलकोबी, हात्तिखार्कमा हात्ती, वसन्तपुरमा लालीगुराँस, मुढे शनिश्चरेमा यलम्बर र चाँपको रुख, संखुवासभाको मामलिङ्ग याक्खा चोकमा डोकेनी स्तम्भ, तेह्रथुमको लसुनेमा लसुन, म्याङलुङमा बिरालो, संक्रान्ति बजारमा फाल्गुनन्द लिङ्देनको शालिक, भोजपुरमा करुवा जस्ता सयौ सालिक तथा स्तम्भ ठाउँठाउँमा बनाइएका छन् । एक–दुईवटाबाहेक प्रायः सबै स्तम्भ सिमेन्टबाट बनाइएका छन् ।
भेडेटार
करिब ६ वर्षअगाडि भेडेटार बजार क्षेत्रमा रहेको शंखेश्वर महादेव मन्दिरमा कलाकार रोजन राईले शंखको स्तम्भ बनाएका हुन् ।विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा निर्माण भएको यस मन्दिर हाल प्रमुख धार्मिक गन्तव्यको रुपमा पनि विकास हुँदै गइरहेको छ । त्यस्तै भेडेटार बजारमै इमानसिंह चेम्जोङको पूर्ण कदको स्तम्भ रहेको छ । इमानसिंह चेम्जोङ नेपालका लिम्बू भाषा क्षेत्रका इतिहासकार, साहित्यकार आदि हुन् । त्यस्तै भेडेटारमै भेडाको स्तम्भ निर्माण गरिएको छ ।

धनकुटा
धनकुटाको परिचय मोडमा अवस्थित एभोगाडो स्तम्भको अनावरण २०७५ मङ्सिर ८ गते एभोकाडो महोत्सवको दिन गरिएको थियो । यही अवसरमा धनकुटा नगरपालिकाले धनकुटालाई एभोकाडोको राजधानीसमेत घोषण गरेको थियो । एभोकाडोको व्यावसायिक खेति धनकुटामा उल्लेखनीय मात्रामा रहेको र सम्भवत एभोकाडोको खेति नेपालमा धनकुटाबाटै सुरुवात भएका कारण यसको प्रतीकको निम्ति धनकुटामा एभोकाडोको स्तम्भ निर्माण गरिएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताए । एभोकाडोको व्यावसायिक खेति गर्नका लागि धनकुटा नगरपालिकाले किसानलाई प्रोत्र्साहन गरेपश्चात हाल एभोकाडो खेतिले किसानको आर्थिकस्तर वृद्धि गरेको तामाङ बताउँछन् ।
तामाङका अनुसार एभोकाडोको एउटा रुखबाट किसानले करिब तीनदेखि चार लाख बराबरको फल फलाएका छन् । धनकुटा नगरपालिकाबाट वार्षिक करिब १० करोड बराबरको एभोगाडोको बिरुवा नेपालको अन्य ठाउँमा निर्यात गरिन्छ । एभोकाडोको अन्तर्राष्ट्रियरुपमा पनि माग रहेको हुँदा यसलाई अझै प्रबद्र्धन गर्न र यसलाई थप व्यावसायिक बनाउनका लागि नगरपालिकाले एभोकाडो प्रशोधन केन्द्र स्थापना गर्ने उद्देश्य पनि बनाएको तामाङले बताए । यसका लागि नगरपालिकाले केही लगानीकर्ताको सहयोगमा जग्गासमेत खरिद गरिसकेको उनले बताए । करिब २२ लाख रुपैयाँको लागतमा बनेको यस स्तम्भ पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्र बनेको छ ।

हिले
धनकुटा जिल्लाको हिलेबजारमा २२ फिटको तोङ्बा खाने भाँडोको प्रतिमा निर्माण गरिएको छ । रोजन राईले बनाएका उक्त प्रतिमा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । यस प्रतिमा रहेको चोक हाल तोङ्बा चोकको नामले प्रख्यात छ । हिले तोङवा र सुकुटीका लागि प्रसिद्ध छ । वर्षैभरि चिसो हावापानी रहने हिलेको तोङ्बा र सुकुटीको स्वाद लिनका निम्ति देश तथा विदेशका हजारौं पर्यटक आउने गर्दछन् ।
हिलेको यस प्रतिमाले तयारी तोङ्बालाई प्रतिविम्बित मात्र गर्दैन, हिले वरपर घट्दै गएको कोदो खेती प्रबद्र्धन गर्ने सन्देश पनि दिने कुरा धनकुटा–१ हिलेका वडाअध्यक्ष निरेन तामाङले जानकारी दिए । हिलेमा बंगुरपालन गर्ने स्थानीयहरू पनि धेरै भएको हुँदा उनीहरुले कोदोको छोक्रा सुँगुरको चारोको रुपमा प्रयोग गर्छन् । यसरी कोदो तथा तोङकोबाको आफ्नै किसिमको महत्व हिलेको रहनसहनसँग जोडिएको हुँदा यस मानवनिर्मित तोङ्वा खाने भाडोले हिलेको चिनारी गराउने तामाङले बताए । एक दशकभन्दा अगाडि यस प्रतिमाको निर्माण हिलेको स्थानीय सहयात्रा युवा क्लबको नेतृत्वमा शहरी विकास तथा स्थानीय वासिन्दाको आर्थिक सहयोगमा भएको अध्यक्ष तामाङले जानकारी दिए ।

सिधुवा बजार
तरकारी उत्पादनमा प्रख्यात छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा काउलीको स्तम्भ निर्माण गरिएको छ । तरकारी खेतीको पहिचान दिन बजारबीचमै काउलीको बोटको स्तम्भ निर्माण गरिएको हो । यस गाउँपालिकाका परेवादिन, मूर्तिढुंगा, हात्तीखर्क, सिधुवा र जोरपाटीजस्ता ठाउँबाट वार्षिक करोडौं रुपैयाँबराबरको तरकारी उत्पादन हुन्छ, जुन देशभित्रै तथा भारत तथा बंगलादेशसमेत निर्यात गरिन्छ ।सिधुवा बजारको यो चोक अहिले काउली चोकको नामले चर्चित छ । यस स्तम्भको कारण पर्यटकहरु पनि आकर्षित हुने गर्दछन् । स्थानीय सिधुवा सिंहदेवी युथ क्लबको संयोजनमा निर्माण गरिएको यस स्तम्भ निर्माणका लागि साविक परेवादिन गाविसले २ लाख, हालको ६ नं वडा कार्यालयले एक लाख ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । यस काउली स्तम्भ निर्माणको लागि पनि चन्द्रमान लिङ्खालाई प्रस्ताव गरिएको थियो । यसै अनुरुप लिङ्खाले सोको डिजाइन गरे । तर आकस्मत उनी अमेरिका जानुपर्ने भएका कारण सोको निर्माण पूरा गर्न सकेनन् । त्यसैले यसको काउलीको भाग फाइबरद्वारा निर्माण गरियो ।
वसन्तपुर बजार
गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वारा वसन्तपुर बजारको बसपार्कमा रहेको लालीगुराँसको स्तम्भले जो–कोहीको पनि ध्यान तान्दछ । सिमेन्टले बनाएको यस गुराँसको रुख हेर्दा साँच्चिकै जस्तो देखिन्छ । रुखको बोक्रालाई देखेर सिमेन्टको हो भनेर पत्याउन झनै मुस्किल छ । गुराँसको रुखमा बनाइएको डाँफे तथा फट्यांग्रा प्राकृतिकझैँ लाग्छन् । यो सुन्दर लालीगुराँस स्तम्भको निर्माण मूर्तिकार द्रमान लिङ्खाले गरको हुन् ।
वसन्तपुरका युवालगायतका स्थानीय वासिन्दाहरुले २०६९ सालमा देउसी खेलेको रकमले गुराँस स्तम्भ बनाउने विचार गरे । उनीहरुले देउसी खेलेर उठाएको एक लाख ८३ हजार पाँच रुपैयाँ थियो । उनीहरुको यस विचारलाई सबैले मन पराएपश्चात कुरा अगाडि बढ्यो र स्तम्भ निर्माण सम्पन्न्न भयो । स्तम्भ निर्माणका लागि नेपाल सरकार पर्यटन मन्त्रालय पर्यटन कार्यालय काँकडभिट्टाबाट पाँच लाख, वसन्तपुर गाविसबाट एक लाख, रमाइलो मेलाबाट एक लाख ५० हजार प्राप्त भएको थियो स्तम्भ अनावरण कार्यक्रममा कोषाध्यक्ष कासाङ आङजुक शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै जम्मा नौ लाख ३३ हजार पाँच रुपैयाँ खर्च भएको सार्वजनीक गरेका थिए । यस गुराँस स्तम्भले प्राकृतिक सुन्दरताले भरिपूर्ण वसन्तपुरको महत्व थप बढाएको शेर्पाले बताए । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये टिएमजे क्षेत्रमा मात्र २८ प्रजातिका गुराँस रहेको छ । यी गुराँस सधैं फुल्दैनन् तर स्तम्भ निर्माणपछि देश–विदेशका गुराँसप्रेमी वसन्तपुरमा आएर बाह्रै महिना फुलिरहेको यस मानव निर्मित गुराँस स्तम्भ हेरेर रमाउने गरेको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताए ।

लसुने बजार
तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारमा लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरिएको छ । यस स्तम्भ पनि मूर्तिकार द्रमान लिङ्खाले बनाएका हुन् । स्थानीयवासी, गाविस र विभिन्न दाताको सहयोगबाट लगभग नौ लाख लागतमा निर्माण गरिएको यस स्तम्भले लसुने बजारको ऐतिहासिक पहिचान झल्काएको छ । यसका साथै यस स्तम्भले पर्यटक आकर्षित गर्नसमेत मद्दत गरेको छ । स्थानीयवासीका अनुसार बाउबाजेले सो क्षेत्रमा लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्यातिप्राप्त बस्तीको रुपमा विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको थियो ।

मुढे बजार
संखुवासभा जिल्लाको मुढे बजारमा पहिलो किराती राजा यलम्बरको पूर्ण कदसहितको १४ फुटको मूर्ति अवस्थित छ । यसको निर्माण १९९३ सालमा मूर्तिकार द्रमान लिङ्खाले गरेका हुन् । यस स्तम्भ निर्माण गर्न पाँच लाख ५० हजार रुपैयाँ लागत लागेको थियो । धर्मदेवी नगरपालिकामा किरात राई जातका मानिसहरुको बसोबास उल्लेखनीयरुपमा रहेको छ ।
किराँत राई जाति नगरपालिकामा धेरै बाहुल्यता भएको दोस्रो ठूलो जात भएको धर्मदेवी नगरपालिकाका मेयर रमेशकुमार जिमीले बताए । मेयर राईका अनुसार विश्वमा हालसम्म निर्माण गरिएको यलम्बरको स्तम्भमध्ये यो स्तम्भ सबैभन्दा ठूलो हो । यस स्तम्भले त्यस क्षेत्रमा बसोबास गर्ने किरात राई जातिलाई मात्र प्रतिविम्बित नगरेर किराँत राजाले विगतमा राज्य गरेको भूमिको रुपमा संखुवासभालाई समेत जनाउने गरेको उनले प्रष्ट पारे ।

म्याङलुङ
तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङमा बिरालो स्तम्भ निर्माण गरिएको छ । म्याङलुङको खास नाम मेयङलुङ हो । लिम्बू भाषाबाट मेयङ भनेको बिरालो र लुङ भन्नाले ढुंगा भन्ने अर्थ लाग्छ । यहाँको इतिहास बिरालोसँग सम्बन्धित रहेकाले बिरालोको स्तम्भ निर्माण गरेर यस ठाउँलाई चिनाउन खोजिएको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फेले जानकारी दिए ।
बिरालोको इतिहासबारे मेयर तुम्बाहाम्फेले किम्वदन्ती सुनाए । परापूर्वकालमा त्यहाँका किराती राजा नागदह भन्ने ठाउँ गएका थिए । एकाबिहानको समयमा बाटोमा बिरालोको आवाज आएको तर कतै हेर्दा पनि बिरालो उनले देखेनन् । तर त्यस रात उनको सपनामा देवी प्रकट भइन् । त्यसपश्चात राजा बिरालो कराएको स्थानमा गएर हेर्दा एउटा ढुंगा भेट्टाए । त्यसलाई उनले बाजागाजासहित लिम्बू भरियाको मद्दतबाट ल्याउने र देवीथान बनाउने व्यवस्था मिलाए ।
बाटोमा भरियाले खाना पकाउन चुलो बनाउनको अन्य ढुंगासहित त्यस ढुंगालाई पनि प्रयोग गरे । खाना बनाउँदा ढुंगा हल्लिएर भाँडाबाट भात पोखियो, अडिएन । यसको रिसले भरियाले त्यो ढुंगालाई आफूसँग रहेको हतियारले काट्दा ढुंगाबाट रगत निस्किएको किम्बदन्ती रहेको छ ।
त्यसपश्चात सोही ढुंगालाई पूजा गरिँदै आएको स्थान नै हालको सिंहबाहिनी भगवती देवीको मन्दिर भएको किम्वदन्ती छ । यसरी मेयाङ बिरालो र लुङ ढुंगाको इतिहासको आधारमा यस ठाउँको नाम मेयङलुङ रहेको हो भन्ने विश्वास रहेको छ । यसैको प्रतीकस्वरूप म्याङलुङलाई चिनाउनका लागि बिरालो स्तम्भ निर्माण गरिएको हो । त्यसो त यस विरालोको घटनाको पनि विभिन्न मानिसले विभिन्न किसिमको इतिहास सुनाउने गरेका छन । तर जे होस् म्याङ्ग्लुङ्ग बजारको इतिहास विरालोसंगा जोडिएको छ भन्ने कुरा चाई प्रष्ट हुन्छ।
स्तम्भ निर्माणका लागि बिरालोको स्तम्भसँगै पार्क पनि निर्माण भएको छ । पार्कमा घण्टैपिच्छे ‘बिरालो कराउने’ प्रविधिसमेत जडान गरिएको तर हाल बिग्रिएको अवस्थामा रहेको छ । यसको निर्माण मूर्तिकार चन्द्रमान लिङ्खाले नै गरेका हुन् ।
