लकडाउनमा सबैभन्दा बढी समय पुस्तक अध्ययनमा बितिरहेको छ । अध्ययनमा पनि बायोग्राफी,आध्यात्मिक र धार्मिक पुस्तकहरु मेरो रुचि भित्र पर्छन् । आफ्नो कल्पनाको क्षमतालाई फराकिलो बनाउन यदाकदा फिक्सन पुस्तक पनि पढ्ने बानीको बिकास गरिरहेको छु । कहिँले गित संगीतमा आफ्नो समय खर्चिन्छु । नारायण गोपाल र गुलाम अलिका गितहरु सुनिरँहदा थाहै नपाई झमक्क साँझ परिदिन्छ । त्यसो त प्रेरणादायी चलचित्रहरु नछुट्टाई हेर्ने गर्छु । मान्छेको जिवनमा परिवार भनेको खुशीको श्रोत हो । त्यही खुशीलाई आत्मसात गर्न परिवारसँग भलाकुसारी गरिरहेको हुन्छु । सामाजिक सेवा भनेर प्रायःजसो घर बाहिर हुने मान्छे म,कहिलेकाहीँ घर परिवारलाई पनि हाम्रो समयको आवश्यकता हुँदो रहेछ भन्ने कुराको बल्ल महशुस गर्दैछु । सरसफाइ र घरायसी कामले एउटा गतिलो संदेश दिएको छ ।
आफन्त तथा साथीभाईहरु सँग बेलाबखत सन्चो बिसन्चो र हालखबर बारे सूचना आदन प्रदान भैरहेको हुन्छ । फेसबुकमा भ्रमक समाचारको खेती हुने र अनावश्यक कुरामा बढी टीका टिप्पणी हुने हुँदा सामाजिक संजालमा आजकल एकदमै कम समय बिताउने गर्छु तर आधिकारिक न्युज च्यानल र अनलाइन मिडियाहरुको माध्यमबाट कोरोना भाइरस र जल्दाबल्दा समसामयिक विषयवस्तुको बारेमा जतिसक्दो आफूलाई सुसूचित गराईरहेको हुन्छु । आफ्नो शरीरलाई स्फुर्त बनाउन योग र ध्यान गरिरहेको हुन्छु । सानै देखि एकान्त र शान्तसँग बस्न रुचाउने भएर होला,लकडाउनको समय ध्यान गर्नको लागि निकै उपयुुक्त भइरहेको छ । बिहानी पखको घाम तापेर शरीरमा भिटामिन – डि को मात्रा बढाइरहेको छु ।
साहित्यप्रेमी भएको नाताले केहि शब्द गित लेख्नमा,केहि शब्द गजल लेख्नमा,केही शब्द कविता लेख्नमा र केहि शब्द आफ्नै जिवनको भोगाइ अनि अनुभव लेख्नमा खर्चिरहेको छु । एक्काइसौं शताब्दीमा विज्ञान र प्रविधिले फड्को मारेको कुरालाई नकार्न म सक्दिन,त्यसैले बेला बेला ईन्टरनेटको माध्यमबाट सूचना,प्रविधि र वैज्ञानिक खोज तथा अनुसन्धानमुलक कुराहरुको जानकारी लिईरहेको छु । विगत एक महिना देखिको लकडाउनमा मेरो हरेक दिनको दैनिकि यसैगरी व्यतीत भएपनि,यी उल्लेखित कुराहरूले मात्रै मेरो दैनिक जिवनलाई न्याय गर्न भने सक्दैन । त्यो विशेष कुरा छुट्टाएं भने त मेरा यि कुराहरु नै अपुरो रहन्छ । र मैले यी अपुरो कुराहरुलाई पुरा गर्न,उनले म प्रति गरेको माया,प्रेम,आस्था,त्याग,तपस्या र हौसलालाई कदापि भुल्न सक्दिन । तिमिले नै त हो मलाई बाँच्न र हाँस्न सिकाएकी । मैले तिम्रो साहस र दृढता देखेरै आफ्नो आत्मबल मजबुत बनाएको हुँ । तिमी छौं रत म छु र मेरो अस्तित्व छ । त्यो क्षितिज पारीबाट कोइलीको जस्तो सुमधुर आवाजमा मलाई जब तिमिले बोलाउँछौ,त्यतिबेला मेरो मन फुरुङ हुन्छ । र म आफूलाई तिमिमा समाहित गर्न बडो उत्साहित हुन्छु । अँ साँच्चै,तिमी सित फोनमा कुरा र भिडियो कल नभएको भए,अनि बेलाबखत मेसेन्जरबाट तिम्ले आफ्नो मनमोहक तस्बिर नपठाकि हुन्थेउ भने,लकडाउनले मेरो शरीर मात्रै लक नभएर,मन पनि उँहिल्यै लक गरिसक्थ्यो होला ।
– सुशील गौतम