हातमा स्नाकोत्तरको प्रमाण पत्र लिएका अनि सयौँ जोर जुत्ता फाटिसक्दा पनि जागिर नपाएर विरक्त भएका युवाहरुको लागि प्रेरणा बनेका छन्, सुमन वाग्ले । आफ्नो क्षमतालाई पहिचान गर्न सकेर मेहनत गरेको कारण नै उनलाई अहिले सफल युवा बनाइरहेको छ । व्यवसाय विषयमा स्नाकोत्तर गरिरहेका २६ वर्षीय सुमन वाग्लेले चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
तनहुको थर्पुमा जन्मिएका वाग्लेले हालसम्म विभिन्न विद्यालय, कार्यालय, रेष्टुरेन्ट तथा अन्य क्षेत्रमा आफ्नो चित्रकलालाई प्रदर्शन गरिसकेका छन् । उनको चित्रकलालाई देख्नेहरु आश्चर्यमा पर्ने गर्छन् । केहि वर्ष अगाडि धुर्मुस–सुन्तली फाउन्डेसनले आयोजना गरेको वीर अस्पताल सरसफाइ अभियानमा दाह्री ग्याङले वीर अस्पतालको भित्ता सजाउने जिम्मा लिएको थियो । यस कार्यमा दारी ग्याङद्वारा सुमन वाग्लेलाई भित्तामा चित्र बनाउने जिम्मा दिइएको थियो । अत्यन्त सुन्दर तस्बिरहरु बनाएर उनले वीर अस्पतालको भित्ताहरु रङ्गाएर अस्पताललाई झन सुन्दर बनाइदिए ।
माओवादी संकटकालको बेला गाउँको विद्यालय बन्द भएपछि कक्षा २ देखि उनी काठमाडौँ आएका थिए । कलङकीको विस्डम एकेडेमीले उनलाई कक्षा ८ मा अध्ययनरत हुँदा छाउनी म्युजियममा चित्रकला सिक्नको लागि पठाएको थियो । हप्तामा एकपटक उनी त्यहा चित्रकला सिक्न जाने गर्दथे । विद्ययालयस्तरीय चित्रकलामा सान्त्वना पुरस्कार पाएपछि उनलाई चित्रकलामा झन् धेरै प्रेरणा मिल्यो । त्यसपछि चित्रकलालाई उनले महत्त्वका साथ अभ्यास गर्न थाले । त्यतिबेला उनका शिक्षकहरुले तिमी चित्रकार बन्न सक्छौ भनेर हौसला दिएको कारण उनलाई थप उर्जा मिल्यो । आफ्नो बाबु पनि चित्रकार भएको कारण उनलाई चित्रकला सिक्न झन् धेरै सजिलो भयो ।
बुवाले दिनु भएको प्रेरणालाई उनी अझै सम्झन्छन् । रोजगारको सिलसिलामा परदेश जानु भएको उनको बुबाले फर्किँदा उनलाई चित्रकलासम्बन्धी पुस्तक, ब्रस र कलरहरु ल्याइदिनु भएको थियो । त्यसपछि उनलाई मैले चित्रकलालाई नै जीवन बनाउनुपर्छ भन्ने भित्रि विचार उत्पन्न भयो । उनले पेन्सिल स्केचबाट सिक्दै गएर निरन्तर अभ्यासपछि अत्यन्त सुन्दर कलर स्केच पनि गर्न थाले ।
उनको चित्रकलालाई देखेर विभिन्न आर्ट ग्यालरीहरुले उनलाई चित्रहरु बनाउने जिम्मा दिन थाले । त्यसबेला उनलाई एउटा सामान्य चित्र तयार गर्न २/३ दिन लाग्थ्यो जसको पारिश्रमिक उनले तीनदेखि चार सय पाउने गर्थे । यसरी कागजमा चित्र उतारिरहेका वाग्लेले आफ्नो बुबासङ्ग भित्तेचित्र बनाउन सिक्न थाले ।
विदेशबाट भित्तेचित्र सिकेर आएका आफ्नो बुबासँगै उनी काम गर्न थाले । बुबासँग काम गर्दा गर्दै उनले भित्तेचित्र बनाउने टेक्निक, कलर मिक्सिङको सीप सिके । अनि आफूले पनि भित्तेचित्र बनाउने अभ्यास गर्न थाले । निरन्तर मेहनत र कठोर साधना पश्चात उनी भित्तेचित्र पनि बनाउन खप्पिस भए । यो बेलासम्म उनी आफ्नो भविष्यको बारेमा अलमल्ल थिए । आफू कमर्सको विद्यार्थी तर आफ्नो सीप चित्रकलामा छ भनेर उनी चिन्तित हुने गर्दथे । उनलाई धेरैजसोले निराश बनाउथे । चित्रकलालाई एउटा शौक मात्र बनाउनुपर्छ तर जागिर नखाइ त हुँदैन भनेर परिवार तथा आफन्तहरुले बारम्बार भन्ने गर्थे ।
तर, उनको झुकाव भने चित्रकलामै थियो । स्नातक अध्ययन गर्दै–गर्दा उनलाई इन्टर्न गरेर कुनै बैङ्कमै जागिरसक्छौ अवसर पनि आएको थियो । उनी कृषि विकास बैङ्क पुतलिसडक शाखामा इन्टर्नसिपको लागि गए । बैङ्कको काम गर्न गएका उनले केही दिनमा त्यहाका भित्ता तथा सिलिङमा सुन्दर भित्तेचित्र बनाइदिए । त्यसपछि बिना सर्टिफिकेट उनी त्यहाँबाट निस्किए । यसरी भित्तेचित्र बनाउँदै जाने क्रममा उनका साथै उनको चित्रकलालाई धेरैले चिन्न थाले ।
विभिन्न कार्यलय, रेस्टुरेन्ट तथा विद्यालय र कलेजहरुबाट उनलाई भित्तेचित्र बनाउने अवसरहरु आउन थाले । उनले भित्तेचित्र बनाएबापत न्युनतम १० हजारदेखि ३ लाखसम्म लिएका छन् । यसरी काम गर्दै जाद उनले आफूलाई चित्रकलामा अगाडि बढाउने र आफूले अध्ययन गर्दै गरेको एम बि एस विषयलाई पनि यसैको व्यवस्थापनमा सदुपयोग गर्ने निर्णय गरे । भित्तेकलाबाट अन्य युवाहरुलाई पनि रोजगारी सिर्जना गराउने उद्देश्यले उनले भित्तेकला ग्रुप बनाएका छन्, जसमा उनले केही युवाहरुलाई चित्रकलामा अगुवाइ गर्दै रोजगार सिर्जना गरिरहेका छन् ।
उनले बनाएका चित्रकलाहरुमा नेपालको हिमाल, पहाड, यहाँको प्रकृति तथा नेपाल झल्काउने अन्य कुराहरु समावेश भएका छन् । नेपाली चित्रकलालाई विश्वभर चिनाउने आफ्नो इच्छा रहेको र त्यसको लागि आफूले परिश्रम गरिरहेको वाग्लेले हामीलाई बताएका छन् ।
अहिले चित्रकलाबाटै आफ्नो पढाइ खर्च, परिवार खर्च चलाएर पनि केही रकमहरु बचत गर्ने गरेका छन् । आफ्नो खुबी र क्षमतालाई पहिचान गरेर त्यसमा मेहनत गर्ने हो भने जो कोहिले पनि नाम दामसहितको सफलता हासिल गर्न सक्ने विश्वास राख्ने सुमन वाग्ले धेरै युवाहरुको प्रेरणाको स्रोत बनेका छन् ।
-सविन घिमिरे