विराटनगर , १ असार २०७८- मोरङको टंकीसिनवरीस्थित रहेको बिराट मेडिकल शिक्षण अस्पतालले मंगलबारदेखि मुटुरोग सम्बन्धि रोगको पहिचान तथा उपचार गर्ने प्रविधि क्याथ ल्याव सुचारु गरेको छ । संसारकै उत्कृष्ट मानिएको क्याथ ल्याब प्रविधि २ वर्ष अगाडि नै जडान भएपनि विराटले मंगलबारदेखि यो सेवा विरामीहरुको लागि उपलब्ध गराएको छ। क्याथ ल्याब सम्बन्धि चिकित्सकको अभावको कारणले सुचारु हुन नसकेको मुटु सम्बन्धि विभिन्न सेवाको लागि अब बिराट मेडिकल शिक्षण अस्पतालमा राष्ट्रीय हृदय केन्द्र सिंगापुरबाट अध्ययन गरी आउनुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा माधव विष्टद्वारा परामर्श तथा उपचार सेवा संगै सुपर स्पेशियालिटि सेवा पनि उपलब्ध गराइने अस्पतालले बताएको छ ।
अस्पतालले हृदयघात आउदा तुरुन्त बन्द भएको मुटुको रगतको नसा खोल्ने प्राइमरी एन्जियोप्लाष्टि , मुटुको साघुरिएको रगतको नसामा स्टेन्ट वा जाली हाल्ने एन्जियोप्लाष्टि , मुटुमा ब्याट्री हाल्ने, भल्भ खोल्ने र जन्मजातको बिना शल्यकृया पाइपद्वारा प्वाल टाल्ने , मुटुको रगतको नसा के कति साघुरिएको छ भनि पत्ता लगाउने एन्जियोग्राफी र टि एम टी , मुटुको चाल सम्बन्धि गडबडको जानकारी दिलाउने होल्टर मेसिन , प्रेसर घटबड हुनेहरुका लागि २४ सै घन्टा प्रेसर मोनिटर गर्ने ए बि पि मेसिन जस्ता विभिन्न अत्याधुनिक उपकरणा सहित क्याथ ल्याव सेवा सञ्चालन गरेसँगै आफ्नो मुटु कतिको स्वास्थ्य छ भन्ने चेक जाँच पनि गर्न सकिने जानकारी डा विष्टले दिएका छन् ।
विश्वस्तरीय उपकरणहरु भएकाले अब प्रदेश १ का मुटु रोगीले उपचारका लागि राजधानी तथा विदेश जानु नपर्ने बिराट मेडिकल शिक्षण अस्पतालका संस्थापक अध्यक्ष ज्ञानेन्द्र मान सिंह कार्कीले बताए । विभिन्न रोगको सफल उपचार गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरण भित्र्याउने क्रम जारी रहेको र अन्य जटिल रोगको उपचार पनि यहि सम्भव बनाउने तयारी गरेको कार्कीले जानकारी दिएका छन ।