-सविन घिमिरे
‘दाह्री ग्याङ’ धेरैको लागि नौलो नाम होइन । ‘गालामा दाह्री, काँधमा जिम्मेवारी’, ‘हाम्रो दाह्री दुनियाँलाई किन भारी?’ जस्ता नारा धेरैले सुनेका छन । बच्चादेखि बुढापाकाहरूको मुखमा आउने एउटा नाम पनि हो दारी ग्याङ ।
दारी ग्याङ्ले दारी पाल्ने युवाहरूको समूहलाई संकेत गर्दछ । आधिकारिक रुपमा दर्ता भएको यस संस्थाको फेसबुक ग्रुपमा दारी पाल्ने , नपाल्ने लाख भन्दा बढि सदस्यहरु रहेका छन । पछिल्लो समय सामाजिक सञ्जालमा दारी ग्याङ निकै चर्चामा छ । दारी ग्याङ्गले विभिन्न क्षेत्रमा गरेका सामाजिक कृयाकलापहरुले गर्दा यो समुहले आफ्न् छुट्टै पहिचान बोकेको छ ।
दारी ग्याङ धेरैको लागि अनौठो नाम रहेको छ । दारी ग्याङकै धेरै सदस्यहरुलाई पनि दारी ग्याङ नामकरण कसरी भयो भन्ने कुरा थाहा नहुन सक्छ ।
एकदिन दारी ग्याङको संस्थापक सदस्य जगदीश भण्डारी र उनका साथी मनोज मालाकार सहित संस्कृतविद् सत्यमोहन जोशीलाई भेट्न उनको घर पुगे । जोशीले उनीहरूलाई एकछिन नियाले र हाँस्दै भनेँ, ‘तपाईंहरू दारी ग्याङ त होइन ?’ सुरुमा भण्डारी र उनका साथीले सत्यमोहनको कुरा बुझेनन् । ‘होइन’ भनेर सामान्य प्रतिक्रियामात्र जनाए ।
तर, जोशीले पुकारेको नाम उनीहरुलाई ‘क्याची’ छ भन्ने लाग्यो । जोशीलाई भेट्नुअघि जगदीश र उनका अन्य साथीहरू मिलेर २५ जनाको फेसबुक च्याट ग्रुप बनेको थियो । ग्रुप रमाइलो र केही व्यक्तिगत सूचना आदान–प्रदानका लागि मात्र खोलिएको थियो । तर, २०७२ सालको भूकम्पपछि उनीहरू सोही ग्रुपमार्फत सामाजिक कार्यमा समेत सक्रिय हुन थालेका थिए ।
अन्य फेसबुक ग्रुपको सूचना आफ्नो च्याट ग्रुपमा सेयर गरेर भूकम्पपीडितलाई सहयोग गर्न पुग्थे । पछि उनीहरूले च्याट ग्रुपलाई फेसबुक ग्रुपको रुपमा विकास गर्ने सोच बनाए । नाम के राख्ने ? साथीहरूबीच छलफल भयो । सोहीबेला सत्यमोहनले उच्चारण गरेको शब्द ‘दारी ग्याङ’ उनीहरूको दिमागमा क्लिक भयो र ग्रुपको नाम नै ‘दारी ग्याङ’ राखियो । त्यसपश्चात विभिन्न सामाजिक सेवामा सकृय रुपमा अगाडि बढ्दै गयो दारी ग्याङ ।