“कति रे ! केजी को २० रुपैॅया ? यति महंगो?”
यो चिर परिचित जस्तैॅ लाग्ने वाक्य त पक्कै पनि सुन्नु भएकै होला। ओहो ! तपाइहरुमध्ये कसैले कसैलाई त पक्कै भन्नुभएकै होला। हो यि तिनै तीर-सरी किसानको मुटुमा नचाॅहदा-नचाॅहदै घोचिने शब्द हुन्। एकपटक होइन बारम्बार, बारम्बार होइन लगातार। तरकारी पसलमा बसेर तरकारी बेच्ने व्यापारीले त्यति घायल हुनु पर्दैन, जति टोकरीमा विहान-साॅझ साग-तरकारी बेचेर गुजारा चलाउने किसानले हुनुपर्छ। हुनु मात्र होइन यहाॅ त किसानले रुनुपर्छ।
मलाई एक जना किसानले भनेको सम्झिन्छु,”यदि वास्तवमै श्रम गर्ने मान्छे धनि हुने भएको भए, संसारको लाखौ धनि मानिसको सुचिमा किसान मात्रै समेटिने थिए होलान्।” हाम्रो हेपाहा र चेपाहा प्रवृत्तिले किसान पछि परिरहेको छ आज। किसान भनेको को हो? हामीले किसानलाई साच्चै चिनेका छै त ? हाम्रा बुवा, आमा, हाम्रा आफन्त, इष्ट-मित्र, अझै भनौ भने तपाई-हामी आफैमा पैनी किसानको रगत रहेको छ । तर पनि किसानलाई निम्न स्तरको ठान्ने हाम्रो सोच अझै पुर्ण रुपमा परिवर्तन भएका छैनन्। यहा वास्तवमा किसानको मेहनतको उचित मूल्यांकन हुन सकेको छैन।
न त सरकारले बिउबिजनमा अनुदान दिन्छ, न त मलमा नै । भनेको समयमा बजारमा मलखादको अभाव सधै भइरहेको हुन्छ। बिउ- बिजनको मूल्य एक्कासी बढेर आउछ। के तपाईलाई थाहा छ ? एक दाना हाइब्रिड काक्रा-करेलाको बिउको मूल्य कति पर्छ बजारमा? २.५ देखि ५ रुपैया। उमारेको बोट खरिद गर्नु परेमा एउटा बोटको १० देखि १५ रुपैया पर्न जान्छ। त्यो नि बाॅच्ने हो कि होइन? एउटा बिउबाट बेर्ना विकसित भई सार्न मिल्ने हुॅदासम्म कति समय लाग्छ होला ? १४ देखि १६ दिनमा उम्रेको बिरुवा बारीमा सारेपछि फेरी खपटे किराले सास्ती दिन्छ। बोटका पातहरु माछा मार्ने जाल जस्तै बन्न पुग्छ। फट्याड़्ग्रा र शड़्खेकिराले त बिरुवालाई तहसनहस हुने गरी खाईदिन्छ र त्यो बिरुवाको जीवनलीला समाप्त हुन्छ।
ल ठिकै छ यति हुदाॅसम्म नि कुनै किराले केही गरेन भने बिरुवा हुर्कन थाल्छ। बिच-बिचमा २/३ चोटी गरेको गोडमेल, पानी जमेर मर्ला भनेर लगाएको उकेरालाई पनि ध्यान नदिने हो भने, बिरुवा हुर्कन लगभग १.५ देखि २ महिना लाग्छ । यो दुई महिना किसान चुपचाप सुतेर बस्छ कहा पाउछ र ? दिनरात नभनी, प्रतिकूल मौसमको प्रर्वाह नगरी समय-समयमा बिरुवामा सिॅचाई गर्छ, मल हाल्छ, काॅट-छाॅट गर्छ, डोरीले लहरा सहि ठाउॅमा जाओस् भनेर त्यसको लागि संरचना बनाउछ, सिचाईको लागि कुलो बनाउछ। डिजलले चल्ने पम्पसेट हो भने प्रति लिटर ८०/ ९० रुपैया तिरेर डिजल किनेर ल्याउछ। बारीमा उम्रेको घाॅस निकाल्छ। दुबोको पूरै जरा निकाल्न सकिदैन र ५ / ७ दिनमै पलाएर पहिलेझै भईदिन्छ । मुथोको गानो निकाल्न नसके फेरी पलाउछ। कति किसानले छापो हालेर केही हदसम्म झारपात रोक्ने कोशिस गर्छ। छापोको लागि पनि कि त खर,स्याउला,पतिड़्गर ल्याउनु पर्यो कि त प्लाष्टिक किनेर ल्याउनै पर्यो . बजारबाट लगभग ४० / ५० रुपैया प्रति मिटर पर्छ। पराल प्रयोग गर्नु पर्यो त्यो एक मुठोको ३ देखि ५ रुपैया पर्न जान्छ। फल कुहाएर औसाले दुःख दिन्छ भनेर २०० ,३०० रुपैया तिरेर ट्रयाप किनेर बारीमा झुन्ड्याउन नि पर्छ। अरु कुनै किराले सताए फेरी किटनाशक औषधी छर्नु पर्यो । औषधीको गुणअनुसार एक/दुइ हप्ता कुरेर बल्ल फल टिपेर किसानले तपाइँ हाम्रो घर-घरसम्म पुर्याउछ।
फेरी जोर-जोरले सासै सुक्ने गरेर तरकारी किन्नको लागी कराउन पनि पर्छ । तपाई हामी सेवाग्राही रुखो स्वरले कुर्सी, सोफामा बसेर घरको छतमा उभिएर कराउछौ ,” ए, ए सुनिनस्, ए तरकारी वाला, ओइ, रोक ए..” इत्यादि । हाम्रा कम्प्लेन पनि धेरै हुन्छ ,”हेर यो काक्रो कस्तो बाड़्गो? सलक्क परेको छैन? तितो होला? तितो भए पैसा दिन्न है? तितेकरेलामा भित्र किरा भए के गर्ने? कस्तो बराबर जोखेको? अलि बढि देऊ न के हुन्छ र? हामी त नियमित ग्राहक हो नि!, मिलाएर देऊ है भाई/ वहिनी, २ किलो राख्छु। अघि एउटा आएर त सस्तोमा दिएर गयो। तरकारी बेच्न आउने अनि पोलिथिन नि नल्याउने?” यस्तै यस्तै असन्तुष्टिको लागि किसानले बेग्लै पटुकी तयार गर्नु पर्ने हुन्छ । अन्तमा सबै कुरा मिलिसकेपछि डराइ-डराई किसानले २० रुपैया प्रति किलो मूल्य भन्दा तपाईहरू जंगेर भन्नुहुन्छ,
“कति रे ! केजी को २० रुपैॅया ? यति महंगो?”
किसानको र उसको मेहनतको कदर गर्न कहिकतै हामी चुकेको छौ जस्तो लागि रहेको छ । किसानको कठोर मेहनतमा उनको अनि उनको परिवारको हजारौ सपना जोडिएका छन् । तरकारी बाड़्गो भए के किसानको दोष हो र ? काक्रो तितो के किसानको भुलले भएको हो र? नियमित किसानलाई अलि बढि दिदाॅ शायदै हामी गरिव बन्दैनौ। चर्को घाम , हुरी बतास , झरी , बाढि , भेला को प्रवाह नगरी मेहनत गरेर हाम्रो पेट भर्ने भगवानप्रति हाम्रो किन गुनासो ?
लेखक: रमेश बोहरा , कृषि सल्लाहकार
अत्तरिया एग्रीकल्चरल ट्रेनिङ्ग सेन्टर , अत्तरिया -कैलाली