धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना प्रदेश न १ को रमणिय पर्यटकिय स्थल हो । प्रमुख पर्यटकीय स्थल भेडेटारबाट लगभग नौ किलोमिटरको दुरीमा रहेको सिम्सुवामा अवस्थित नमस्ते झरना अनुमानित ८० मिटर अग्लो रहेको छ। यो झरनाको शीरलाई लिम्बुनी लोहोसे भनिन्छ। झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्दो छ तथापि कोरोनाको महामारीले गर्दा जारी निषेधाज्ञाले गर्दा हाल पर्यटकहरुको आवतजावत ठप्प छ । झरनामा मनोरन्जन गर्न र वनभोजको निमित्त नेपालको पूर्वी जिल्लाहरू तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी तथा भारतबाट पनि हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन्। धरान-धनकुटा मार्गमा रहेको सिम्सुवा मोडबाट झरना भएको मूल स्थानसम्म पुग्न करिब २० मिनेट पैदल बाटोको प्रयोग गर्नुपर्छ।