चितवन – काठमाडौंको ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलर्स प्रालिले प्लटिङ गरेर विक्री वितरण गर्दै आएको चितवन जिल्लाको माडीमा एक सय विघाभन्दा बढी जमिन मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीले कब्जा गरेको घोषणा गरेको छ। माडी नगरपालिकाका प्लटीङ्ग गरिएको विभिन्न स्थानमा रहेको जमिनमा पार्टीको झण्डा गाडेर कब्जा गरिएको जिल्ला इन्चार्ज घननाथ सापकोटाले जानकारी दिए। माडी–३ पौवारीमा एक कार्यक्रम गर्दै पार्टीले नगरपालिकाले जथाभावी जमिनको खण्डीकरण गरेका कारण कब्जा गर्नुपरेको घोषणा गरेको छ ।
पौवारीमा मात्रै ट्वान्टी वान ग्रुपको करिब ५० विघा जमिन रहेको छ। कार्यपालिकाको निर्णयविपरीत नगरपालिकाका मेयर र कर्मचारीहरूले जमिनको खण्डीकरण गर्न दिएर व्यक्तिगत लाभ लिइरहेको प्रष्ट देखिएको कारण त्यस्तो हुन नदिन यो कदम चालिएको घननाथ सापकोटाले बताए । कब्जा गरिएको जमिन उपयुक्त समयमा सुकुम्बासीलाई वितरण गरिने पार्टीले बताएको । पार्टीले जमिन माथिको खण्डीकरण बन्द गरेर भूमाफियालाई कारबाही गर्न माग पनि गरेको छ ।