
– विश्व क्रिकेट लिग डिभिजन ५ को लिग चरणको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै थिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सक्यो । अमेरिका सजिलै विजय लक्ष्यतर्फ पुगेको अवस्थामा नेपाल बाहिरिने निश्चितजस्तै भइसकेको थियो । दर्शकले कीर्तिपुर मैदानमा ढुंगा प्रहार गर्न लागेपछि खेल अवरुद्ध बन्न पुग्यो । अवरुद्ध समयको ओभर घटाउँदा हारका बाबजुद नेपाल फाइनल पुग्यो र घरेलु मैदानमा उपाधी जित्यो ।
यो २०१० को कुरा थियो । त्यति बेला पारस खड्का मैदानमा थिए । म मैदान बाहिर प्रहरीको लाठीचार्जबाट बँच्न भाग्दा लोती चुडिएका आफ्ना दुवै चप्पल हातमा झुन्ड्याउदै सिस्नोघारी हुँदै दौडदै थिएँ । पारस खड्का र मेरो बिचमा पुरा मैदान मात्रै थिएन, एउटा सिस्नोघारी र लाठी उज्याएर दौडिरहेका केहि प्रहरीहरु पनि थिए ।
घरेलु मैदानमा अर्को उपाधि जित्न नेपालले अर्को ११ बर्ष पर्खिनु पर्यो । नेपाल, नेदरल्यान्डस् र मलेसिया सम्मिलित टी-२० सिरिजमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले घरेलु मैदानमा पहिलो पटक टी-२० सिरिजको उपाधि जित्यो ।
फाइनल हुँदै गर्दा म दर्शकदिर्घामा थिएँ । संयोगले पारस खड्का र मेरो बिचमा केहि थिएन । हामी सँगै बसेर फाइनल हेरिरहेका थियौँ । मैदान भित्र उपाधि जितको खुसीयाली हुदै गर्दा मलाई आफुसँगै बसिरहेका पारस मैदानभित्रै नेपालको जर्सी लगाएर स्टम्प उखेल्न दौडिरहेको हेर्न पाएको भए भन्ने लागिरहेको थियो ।
यी दुइवटा उपाधि बिचका धेरै बर्षहरुमा जति सुकै तल्लो स्कोरमा अरु खेलाडी आउट भए पनि पारस आएर जोगाउँछन् भन्ने आशमा नेपाली क्रिकेट हेरियो । पारसले मैदान भित्र र बाहिर पनि मन जिते ।
आज बिहान उठे पछिको पहिलो समाचार उनै पारसको अन्तराष्ट्रिय खेल जीवनबाट सन्यासको थियो । यो एकदिन हुनु नै थियो । जहिलै भए पनि यत्तिकै आश्चर्यजनक, असामायीक र बिडम्बनापुर्ण लाग्ने नै थियो ।
अहिलेसम्मको योगदानका लागि नेपाली क्रिकेट क्षेत्र र सम्पुर्ण नेपाली क्रिकेट दर्शकहरु पारस खड्का प्रति आभारी छौँ । तिमीसँग असाध्यै धेरै याद र संवेदनाहरु जोडिएका छन् । सबै कुराको लागि धन्यवाद ‘क्याप्टेन’ ।