हजारौ वर्ष अघि मानिसहरुले खेतीपाती र घरजम गरेर बस्न थाले पछि बिभिन्न सहयोगी जनावरहरुलाई आफ्नो दैनिक काममा लगाउन रत्याउदै पाल्दै गएका छन्। यसैक्रममा गाई,भैंसी,कुखुरा,बाख्रा,हाँस, घोडा , खच्चड, हात्ती, उँट आदिको पालन प्रजनन र उपयोग सुरु भएको होला। यी सबै पशुपन्छीको पुर्खा, वंशज र नातेदारहरु अझै नि जंगलमा पाइन्छन।
इशापूर्व २००० वर्ष भन्दाअघिदेखि नै मानिसले वनबाट भैंसी समातेर पाल्न सुरु गरेको देखिन्छ। वन अथवा प्राकृतिक धापिले घाँसे मैदानमा जंगली भैंसी (अर्ना) अझै नि पाइन्छ। यिनीहरुलाई घरपालुवा भैंसीको नजिकको नातेदार भनिन्छ । अर्ना केहि संख्यामा नेपाल र भारतका उष्णप्रदेशका पानी पोखरी भएका जंगली क्षेत्रहरुमा अझै पाइन्छन। वैज्ञानिक हिसाबमा वर्गीकारण फर्दा भने अर्नाहरुका नजिकको नातेदार त्यस्तै प्रकृतिमा रमाउने गौरी गाईलाइ राखिएको छ।

अर्नाको आकार प्रकार र रुपरंग घरपालुवा भैंसीसंग मिल्दछ। तर अर्ना हेर्दै ठुलो, फुर्तिलो र बराठ हुन्छ भने सिङको आकार तरबार भन्दा पनि लामो हुन्छ। वयस्क अर्नाको तौल ७०० देखि ९०० किलोग्रामसम्म पाइएको छ। रसिलो नाक, गाजलु आँखा, फुर्तिलो छाल अर्नाका विशेषता हुन्। घरेलु भैसी जस्तै सिलोट (खरी) रङ्गका अर्नाहरुको शरीर पुरै कालो हुन्छ र काला मसिना रौँले ढाकेको हुन्छ तर परबाट हेर्दा अलि खैरो जस्तो लाग्दछ। भर्खर जन्मेका पाडापाडीको रौंको रङ्ग कालो नभई हलुका मट्याइलो (सेतो भएकाले पहेलोजस्तो )देखिन्छ। शुद्ध अर्नाहरुमा गौरीगाईको जस्तो घुँडा देखि मुनि खुरसम्म सेता रौँ मोजा लगाएझैँ देखिन्छ ।
संसारभरि पाइने जङ्गली भैंसीहरु बिभिन्न पाँचवटा प्रजातिमा बाँडिएको वैज्ञानिकहरु भन्दछन। अफ्रिकातिर पाइने जङ्गली भैंसीहरु भने फरक खालका हुन्छन। नेपालमा हाल कोशीटप्पु आरक्ष क्षेत्रमा मात्र अर्नाको बसोबास रहेको भेटिन्छ। नेपालमा पाइने अर्नाहरु धेरै अघिदेखि घरपालुवासंग मिसिएर रहेको भन्ने पनि भनाइ छ। अर्नाहरु हिलो पानीमा आहाल बस्न र सफा पानीमा पौडन रुचाउछन।
अर्नाहरु कोशीको बाढीले बगाएर र खुर सम्बन्धि रोगबाट मरेर निकै घटेको अनुमान गरिएको थियो। अर्नाले बेलको फल र पात, करमको बोक्रा, इमली, कोइरालो, भोर्ला र टाकिको पात, राजवृक्षको फल आदि खाने गरेको पाइएको छ। वासस्थानमा पर्याप्त घाँसको कमि हुदा अर्नाहरु साँझपाख मानिसको खेतीपाती अतिक्रमण पारीदिन्छन।
प्राय आइंइंइं गरेर वा फुं फुं अथवा थर्किने आवाज निकालेर आफ्ना कुरा सम्प्रेषण गर्ने अर्नाहरु बेलाबेला भुइँ खोस्रने, सिङले माटो उधिन्ने र पिसाब फेर्द्दै डर,त्रास र आक्रमणको संकेत गर्ने गर्दछन।कुनै पनि पुर्व सूचनाबिना एक्कासि आक्रमण गर्नसक्ने अर्नाको स्वभाव उस्तै पर्दा बाघलाइ पनि लखेटेको कयौं घटना जनचर्चामा छन्। यसबाट अर्नाको महसुरपन र रिसाहा प्रवृति थाहा हुनपुग्छ। हाम्रा घरेलु भैंसीको पुर्खा र वंसज नेपालका अर्नाहरु विगतका मानवीय र प्राकृतिक कारणले कोशी क्षेत्रमा मात्र सिमित हुन पुगेका छन्। नेपालमा पहिला हरेक पटकको गणनामा डरलाग्दो आंकडा देखिएको अर्ना अहिले विस्तारै वृद्धि भइरहेको देखिन्छ। पछिल्लो गणना अनुसार कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र अर्ना भैंसीहरुको संख्या ४९८ पुगेको छ। यो संख्या अघिल्लो गणना भन्दा १३ प्रतिशत बढी हो।
– डा मुकेश कुमार चालिसे , रिभो साइन्स ( रिभोलुसन थ्रु साइन्स )
फिचर इमेज : नेपाल रेण्टल कार