२ पुस २०७५ मा चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणबाट एउटा शर्ट मेशिन गन चोरी हुन्छ। बडी नम्बर केआर १००७९२ र बट नम्बर (ख) २५ को एसएमजी चोरीको अभियोगमा दुइजना सेनाका जवानलाई पक्राउ गरिन्छ। त्यतिबेला कालिबहादुर गणमा कार्यरत उदयपुर गाईघाट घर भएका सिपाही लव गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका सरोज तामाङलाई २०७५ चैत १८ बाट गणना हुने गरी सजाय तोकिन्छ। श्री समरी जनरल सैनिक अदालत, मुकाम कालीबहादुर गण भरतपुरले लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष कैद सजाय तोकेर जेल चलान गर्छ । सम्पत्तिसम्बन्धी कसुरमा यो सजाय भएको उनीहरूलाई दिइएको कागजमा उल्लेख छ । सेनामा रहेका कारण उनीहरूविरुद्ध सैनिक अदालतमा मुद्दा चलेको थियो ।
तारा र पवनको सफाई
चोरी भएको सो हतियार किनेको आरोपमा उदयपुर चौदण्डीगढी–१ का पवन गुरुङ उर्फ टाइचिन र त्रियुगा–४ की तारा तामाङविरुद्ध चितवन जिल्ला अदालतमा २०७५ चैत १८ मा मुद्दा पर्छ । मुद्दा दायर गर्दा लबकुमारलाई हतियार चोरी घटनाको मुख्य योजनाकार र सरोजलाई सहयोगीका रूपमा प्रस्तुत गरिन्छ । तारा लबकुमारकी जेठी सासू हुन् । भरतपुर विमानस्थल रोडमा आएर लवकुमारबाट ताराले नै हतियार लगेको र त्यसपछि ताराले पवनलाई दिएको भन्ने अभियोगमा मुद्धा दर्ता हुन्छ।
तर, अदालतमा यो कुरा प्रमाणित हुन सक्दैन । यस मुद्दामा २०७६ मंसिर २० मा फैसला आउछ जस अनुसार तारा र पवन दुवैले सफाइ पाउछन । यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन पनि गर्छ । उच्च अदालत पाटनको हेटौंडा इजलासले २०७७ चैत १२ मा जिल्ला अदालतको फैसला सदर गर्छ । चोरी भएको हतियार किनेको आरोपमा समातिएका दुवै आरोपितले दुई तहको अदालतबाट सफाइ पाउछन । तर हतियार चोरेको आरोप लागेका दुवै सैनिक भने सैनिक अदालतबाट दोषी ठहर भएर हालसम्म जेलमा छन् ।
साढे २ वर्ष पछि सोहि हतियार प्रयोग गरी सेनाको हत्या
एस एम जी चोरी भएको साढे २ वर्ष पस्चात यो घटनाले अर्को मोड लियो जब चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणबाट हराएको भनिएको सर्ट मेसिन गन (एसएमजी) हालैको एक हत्याकाण्डमा प्रयोग भएको पाइयो । बडी नम्बर केआर १००७९२ एस एम जी हतियार चितवनमा भएको एक हत्याकाण्डमा प्रयोग भएको पाइएपछि पुरानो घटना ब्युतिएको छ। गत ७ साउनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको थियो। चितवन भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका गुरुङलाई आफ्नै साथी सैनिक जवान गंगाधर ढकालले एसएमजी प्रयोग गरेर हत्या गरेका थिए। गुरुङको हत्यामा दुई वर्षअघि हराएको एसएमजी ‘गन’ नै प्रयोग भएको थियो । गंगाधरले पनि आफुले सो हतियार चोरी गरेर हत्या गरेको स्वीकारिसकेका छन् । सोधुछको क्रममा उक्त एसएमजी गन २ वर्षअघि चितवनको कालीबहादुर गणबाट चोरेर घरमै राखेको ढकालले प्रहरीसमक्ष बयान दिएका थिए । ढकालविरुद्ध ज्यान सम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको आरोप लागेको थियो। प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् ढकालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। हाल उनी पनि जेलमा छन ।
कसरी चोरी भयो ? ( वयान र अनुसन्धान अनुसार )
‘एसएमजी’ हतियारसहित पक्राउ परेका सैनिक जवान गंगाधर कालीबहादुर गणका भने होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालीबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो । चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरूले बताएका थिए। झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको सैनिक अनुसन्धानबाट थाहा भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका ढकालले प्रहरीसँग ‘अङ्कुशेले तानेर एसएमजी चोरेको’ बयान दिएका थिए ।
तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठ र क्पाटेन गणेश ढकालले व्यक्तिगत रिसईबीका कारण हतियार चोरीमा सैनिक लव गुरुङ र सरोज तामाङलाई फसाएको उनीहरुको परिवारले आरोप लगाउदै आएको छ । साउन ७ को घटनाले सैनिक अदालत प्रति शंकाहरु उब्जिएका छन। हतियार चोरीको आरोपमा जेल सजाय भोग्दै आएका लव गुरुङ्ग र सरोज तामाङ्गलाई झुटो आरोप लगाई फसाइएको भन्दै हाल उनीहरुको न्यायको लागि आवाज उठ्दै आएको छ। सैनिक न्यायालयप्रति ठुलो प्रश्न चिन्ह खडा भएको छ ।
(यो लेख कान्तिपुर , नेपाल समय तथा रातोपाटिबाट संकलित सामाग्री हो। )