विराटनगर, जेठ २३ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा स्वावाको पिसीआर परीक्षण गरिएको थियो । पञ्चपुरी नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको थियो । बुधबार साढे चार बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो ।सोही राति साढे १२ बजे घर पुगेका ती युवा नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए ।वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए ।