विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित अवस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार प्रकाशन गरेको भन्दै क्लासिक टेकले ओबी मिडिया प्रा.लि.को अनलाइन प्रकाशन आवर विराटनगरलाई ‘ब्लक’ गरेको छ । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरेपछि त्यस विषयमा आवर विराटनगरले समाचार सामाग्री प्रकाशन गरेको थियो । यस लगत्तै क्लासिक टेक प्रयोगकर्ताले ओबिको पेजमा गएर समाचार सामाग्री हेर्न नमिल्ने गुनासो आएको थियो ।आफ्नो विषयमा समाचार प्रशारण गरेको भन्दै इन्टरनेट प्रदायक निजी कम्पनिले सञ्चारमाध्यमलाई नै प्रतिबन्ध लगाएको हो । आवर विराटनगरको पेज ब्लक गरेपछि क्लासिक टेक प्रयोगकर्ताले त्यो पेजमा गएर समाचार सामाग्री हेर्न नमिल्ने बनाइएको छ ।
विराटनगरका सेवाग्राही अमित गुप्ताले केहि दिन अगाडीदेखि सेवा अवरुद्ध भएको भन्दै गुनासो गरेपनि क्लासिक टेकले त्यसलाई सुधार नगरेपछि गुप्ताले शुक्रबार साँझ क्लाइक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए ।गुप्ताले आफ्नो गुनासो राख्दा कम्पनिका प्रतिनिधिले नयाँ–नयाँ सामान जडान गर्नुपर्ने भन्दै खरिदका लागि दवाव दिदैं आएको गुनासो राखेका थिए । शुक्रबार साँझ तालाबन्दी गरेपछि गुप्ताको घरमा भने राती नै राउटर जडान गरिएको थियो ।
शुक्रबार राती नै समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई ब्लक गरेपछि ओबी मिडिया प्रा.लि.ले त्यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, नेपाल पत्रकार महासंघ प्रदेश लगायतलाई जानकारी गराईसकेको छ ।
मेनेजर भुपाल सिंह कार्कीले सञ्चारमाध्यमको पेज ब्लक नगरिएको बताएपनि विराटनगरका पाठकले अझैसम्म ओबीमा प्रकाशित समाचार सामाग्री हेर्न नपाएका गुनासो आइरहेको छ ।
ओबी मिडिया प्रा.लि.का सञ्चालक सरोज कार्कीले क्लासिक टेकले संविधानको मर्म र कानुन विपरित काम गरेको भन्दै त्यस विरुद्ध कानुनी कारवाहीमा जाने बताएका छन् । नागरिकलाई सूचित हुनबाट गरिएको बन्देजको काम निन्दनीय रहेको उनले बताए ।
मेनेजर कार्कीले ओबीलाई ब्लक नगरिएको दावी गर्दै शनिबार साँझ नत्र आईतबारसम्ममा समस्या समाधान हुने दावी गरेका छन् ।