सविन घिमिरे ,
कमेडी च्याम्पियन सिजन २ मा टप ३ प्रतिस्पर्धाको लागि विक्की अग्रवालको प्रस्तुति कमेडी च्याम्पियनको इतिहासमा नौलो प्रस्तुति थियो । उनले गरेको माइम आर्टको विषयमा ३ जजहरु मनोज गजुरेल , प्रदिप भट्टराई र रिचा शर्माको प्रतिक्रिया एउटै थियो । उनीहरुले विक्कीले कमेडी च्याम्पियनको स्टेज मार्फत नेपाल कमेडिको इतिहासमा नौलो प्रस्तुति पस्किएकोमा धन्यवाद दिदै भोटको लागि अपिल पनि गरेका थिए । त्यस्तै अर्का जज सन्तोस पन्तले भने नेपाली समाजमा माइम आर्टको बारेमा थाहा नभएको र माइम आर्ट नेपालीहरुको लागि फरक स्वाद भएकोले दर्शकले नाबुझने प्रतिक्रिया दिएका थिए। अतिथिक रुपमा आएका किरण केशीले पनि विक्कीले नेपाली हास्य क्षेत्रमा इतिहास लेखेको प्रतिक्रिया दिएका थिए। विक्कीको प्रस्तुतिले ‘कमेडी च्याम्पियन’ केहि समय ‘क्राइङ्ग च्याम्पियन’ झैँ बनेको थियो । के हो त विक्की अग्रवालले प्रस्तुत गरेका माइम ? नेपालमा त्यति नदेखिए पनि कहिलेकाही फेसबुक तथा युट्युबमा विदेश तिरका भिडियोहरुमा अनौठो कपडा लगाएका , अनुहारमा सेतो तथा अन्य रंग लगाएर सजिएका व्यक्तिहरुले केहि नबोली शरीरको हाउभाउद्वारा सडकमा आफ्ना प्रस्तुति दिइरहेको देखिन्छ । ती प्रस्तुती दिने व्यक्ति माइम हुन् ।
के हो माइम ?
माइम मौन कलाको एक रूप हो जहा केहि नबोली शरीर तथा अंगहरुको इशारा र अनुहार को भाव को उपयोग गरेर अभिनय र संचार गरिन्छ । माइम अस्तित्वहीन वस्तुलाई प्रस्तुत गरिने कला हो। यो एक धेरै अनुशासित र सटीक कार्य हो। माइममा अनुशासन र मर्यादालाई विशेष ख्याल गरिएको हुन्छ । आफुले केहि नबोली इशारा र हाउभाउको माध्यमबाट मात्र प्रदर्शन गरिने हुनाले यसलाई प्रभावकारी बनाउन कलाकारले एकदमै विशेष ध्यान दिनु पर्दछ । ब्याकग्राउण्ड म्युजिकको प्रयोग भएको माइममा झनै म्युजिक अनुसारको अभिनय गर्नु पर्दछ । दर्शकलाई आफ्नो खुशी , रिस , आवेग , डर जस्ता उत्तेजना बुझाउनको लागि हात , खुट्टा , औला , आखा , ओठ जस्ता अंगहरुको प्रत्येक हाउभाउलाई विशेष ध्यान दिनु पर्ने हुनाले माइम गर्ने कलाकारले धेरै भन्दा धेरै अभ्यास गर्ने गर्दछन। माइम प्रस्तुत गर्ने व्यक्तिलाई पनि माइम नै भनिन्छ। पहिलो रेकर्ड गरिएको माइम टेलिस्टेस हो ।
माइमको छोटो इतिहास खोतल्दा
भाषाको उत्पत्ति हुनभन्दा पहिला संचारको लागि इशारा र अनुहारका भाव नै प्रयोग गरिन्थ्यो । भाषाको विकास भए संगै यी इशारा तथा अनुहारका भावलाई मनोरन्जनको रुपमा लिन थालियो । धेरै मानिसहरु माइम फ्रान्सेली संस्कृति संग सम्बन्धित भएको मान्दछन । तर माइम प्रारम्भिक ग्रीकहरु र रोमीहरुको लागी एक पुरातन कला हो। फ्रान्समा माइम फस्टाएको हो भनेर नकार्न चाइ सकिन्न ।त्यो बेला माइम यति लोकप्रिय भयो कि माइम स्कूलहरु फ्रान्स भर स्थापित गरीएको थियो र फ्रान्सेली माइम्स एक महान परम्पराकै रुपमा अगाडि बढ्यो ।
माइम सन् १८११ मा जीन गैसपार्ड बाटिस्टे देबुराउद्वारा फ्रान्समा ल्याइएको थियो, जो एक भ्रमण गर्ने एक्रोब्याटिक परिवारका थिए ।देबुराउ फ्रान्समा बसोबास गरे र माइमलाई अभिव्यक्त आधुनिक संस्करणको रुपमा विकास गरे जुन अझै पनि जिवित छ ।
देबराउ आफ्नो मूर्ख, हास्यास्पद तथा मायालु चरित्र को लागी प्रसिद्ध थिए जसलाई पियरोट नामले चिनिन्थ्थ्यो। आधुनिक माईम कलाको पिता देबराउलाई मानिन्छ । देबराउको मृत्युमा कलाकार पल लिग्रेण्डले आफुलाई अर्का पियरोटको रुपमा चिनाउन सफल भए जब उनले थप कारुणादायिक माइम कला प्रस्तुत गरे । २० औ शताब्दीमा फ्रेन्च रंगकर्मी ज्याक लेकोक र एटीयन डिक्रुकसले माइम कलालाई औपचारिक विधाको रुपमा चिनाउने प्रयास गरे । दुबैले माइम कला विषयको विस्तृत सैद्धांतिक अन्वेषण प्रकाशित गरेका थिए।
सबैभन्दा प्रसिद्ध फ्रान्सेली माइम मध्ये एक मार्सेल मार्सेउ थिए। चार्ली च्याप्लिनको प्रस्तुतिबाट अत्यन्तै प्राभावित उनी आफै पछि माइम कलाकारको रुपमा उदाएका थिए । उनको ‘ बिप द क्लाउन ‘ माइम प्रस्तुति विश्वविख्यात बनेको थियो। दोस्रो विश्वयुद्धको समयमा फ्रान्सेली प्रतिरोधको लागी क्रान्ति गर्दा मार्सेउले सडक सडक गल्लि गल्लिमा आफ्नो माइमको वीरतापूर्वक उपयोग गरेका थिए ।
प्रारम्भिक मोशन पिक्चर टेक्नोलोजीको प्रतिबन्धका कारण कथाहरुलाई न्यूनतम संवादका साथ निर्माण गरिन्थ्यो । यसले गर्दा अबल शारीरिक अभिनयको माग बढायो। चार्ली च्यापलिन, हेरोल्ड लोयड र बस्टर केटन जस्ता मौन फिल्म हास्य कलाकारहरुले थिएटरमा माइम सिकेका थिए । सिनेमामा माइमको उपयोग गर्ने सबैभन्दा प्रसिद्ध कलाकारहरु मध्ये चार्ली च्याप्लिन एक थिए जसलाई अहिले पनि प्रेरणाको रुपमा लिइन्छ ।
माइम आर्टिस्टले यति बेला विशेष गरेर विश्वका विभिन्न शो हरु मार्फत आफ्नो प्रस्तुति दिइ रहेका छन् । थुप्रै विश्व विख्यात प्ल्याटफर्ममा माइम कला प्रदर्शन भइरहेका छन्। न्युजिल्याण्डका साम विल्सले आफ्नो माइम प्रस्तुति गरेर अमेरिका गट ट्यालेण्ट २०१६ को फाइनलिट बनेका थिए । उनको प्रस्तुति पछि उनी विश्व प्रख्यात बनेका थिए । उनलाई टेप फेसको नामले पनि चिनिन्छ । नेपालको परिप्रेक्षमा विक्की अग्रवालको यो साता प्रस्तुतीले नेपालमा पनि विश्वले स्विकारी सकेको माइमको स्वाद भित्र्याएको छ । पछिल्लो आफ्नो प्रस्तुतिको कारण आफु आउट हुने अवस्था आएपनि पान्टोमाइमलाई कमेडी च्याम्पियनमा प्रस्तुत गर्न पाउदा आफुलाई पश्चाताप नलागेको विक्किले प्रतिक्रिया दिएका छन्।
माइम र पान्टोमाइमको भिन्नता
माइमले विभिन्न प्रकार को माध्यम बाट चुपचाप अभिनय गर्ने सैद्धान्तिक कलालाई बुझाउँछ। काल्पनिक वस्तुको प्रयोग र कलाकारको शरीरलाई अभिव्यक्तिको रुपमा प्रस्तुत गर्नको लागि माइम केन्द्रित् हुन्छ। पान्टोमाइमले वास्तविकता को भ्रम सिर्जना गर्न काल्पनिक स्थिति र वस्तुहरु को उपयोग गर्ने कलालाई बुझाउँछ। पान्टोमाइमले कुनै विशिष्ट विषय देखाउन को लागी पहिचानयुक्त वस्तु तथा अभिनय प्रस्तुत गर्दछ । यद्धपि माइम र पान्टोमाइम दुवैमा कलाकारहरुले केहि नबोली शारीरिक हाउभाउको माध्यम बाट भावना प्रस्तुत गर्दछन।