विराटनगर – चौतर्फी विरोध भएपछी क्लासिक टेकले आवर विराटनगरमाथि गरेको प्रतिबन्ध खुल्ला गरेको छ । शुक्रबार साँझ सेवाग्राहीले विराटनगरको ट्राफिक चौकस्थित क्लासिक टेकको सेवा केन्द्रमा तालाबन्दी गरेको समाचार प्रकाशित गरे लगत्तै आवर विराटनगरलाई क्लासिक टेकले ‘ब्लक’ गरेको थियो । नेपाल पत्रकार महासंघ मोरङ र प्रदेश समितिले घटनाको विरोध गर्दै तत्काल आफ्नो गलत कार्य सच्याउन आग्रह गर्दै विज्ञप्ती जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले सञ्चारमाध्यममाथि गरिएको प्रतिबन्ध गैरकानुनी रहेको भन्दै आइतबार क्लासिक टेकका प्रतिनिधिलाई तत्काल हटाउन निर्देशन दिएका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिले सरकारको सिफारिसमा दुर सञ्चार प्राधिकरणले मात्रै ब्लक गर्न पाउने प्रावधान विपरित प्रविधिको दुरुपयोग गर्दै सञ्चारमाध्यममाथि गरिएको प्रतिबन्ध गैरकानुनी रहेको भन्दै आइतबार विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ । महासंघ प्रदेशका महासचिव विवेक गौतमले गैरकानुनी ढंगबाट गरिएको कार्यको विरोध गर्दै तत्काल सच्याउन आग्रह गरेका हुन् ।
शुक्रबार साँझबाट क्लासिक टेक प्रयोगकर्ताले आवर विराटनगरबाट प्रकाशित समाचार सामाग्री खोलेर हेर्न बन्देज गरिएको थियो । ४० घण्टापछि आइतबार क्लासिक टेकले ‘ब्लक’ गरेको ओबीको पोर्टललाई खुल्ला गरेको छ ।
क्लासिक टेक विरुद्ध ओबी मिडिया प्रा.लि.ले कानुनी कारवाही अगाडी बढाउने तयारी गरि रहेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कानुनी परामर्शमा कम्पनि विरुद्ध क्षतिपूर्तिको माग दावी गर्दै मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडी बढाइएको ओबी मिडियाले जानकारी गराएको छ ।