काठमाण्डौ – नेपाल र भारतबिचको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुङ्गिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालको तर्फबाट अन्जन विष्टले पहिलो हाफको ३६ औ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै भारतले दोस्रो हाफको ६० औ मिनेटमा गोल फर्काएको थियो । भारतको तर्फबाट अनिरुद्धले गोल गरेका थिए । खेलको अन्तिम समय सम्म पनि दुवै टीमले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको थियो ।
नेपाल र भारतबीच ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा यो खेल भएको हो । नेपालले यस अघि भारतसँग १९ खेल खेलेको थियो । जसमा भारतले १३ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग खेलेको यस मैत्रीपूर्ण खेल पनि बराबरीमा टुङ्गिएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।