काठमाडौँ — गत साउन ७ मा चितवनको भरतपुर–१७ स्थित सिमलडाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको गोली हानी हत्या गरेको अभियोग लागेको सिपाही गंगाधर ढकाललाई नेपाली सेनाको समरी जनरल सैनिक अदालतले जन्मकैद गर्ने फैसला गरेको छ । उनलाई सैनिक गणबाट हतियार चोरी गरेको पनि अभियोग लगाइएको छ । सो अभियोगमा सरकारी वकीलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले भदौ १ मा सैनिक अदालतको क्षेत्राधिकारमा पर्ने भन्दै नेपाली सेनालाई अभियुक्त ढकाल र उनीसँग सम्बन्धित फाइल हस्तान्तरण गर्न आदेश दिएको थियो ।
सेनाले आफूले जिम्मा लिएपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी प्रतिवेदनको आधारमा भदौ ९ मा समरी जनरल सैनिक अदालत गठन गरेको थियो । त्यही अदालतले ढकाललाई हत्या मुद्दामा दोषी ठहर गरेको हो ।
नेपाली सेनाले बिहीबार ढकाललाई फैसला सुनाएर कार्यान्वयन सुरू भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ढकाललाई जन्मकैद बापत २५ वर्ष कैद र त्यसपछि सरकारी सेवामा अयोग्य हुने सजाय सुनाएको हो ।
सरकारी वकीलको कार्यालयले भने हत्या मुद्दामा जिल्ला अदालतमा सुनुवाइ हुनुपर्ने दाबीसहित बुधबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दर्ता गरेको छ । सैनिक ऐनले नै हत्या मुद्दा नियमित अदालतमा सुनुवाइ हुनुपर्ने व्यवस्था गरेको भन्दै उच्च सरकारी वकिलको कार्यालयले सैनिक हदालतलाई अभियुक्त हस्तान्तरण गर्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गरेको छ ।
अभियुक्त ढकालले हत्यामा प्रयोग गरेका बडी नम्बर केआर १००७९२ एस एम जी हतियार चोरीको अभियोगमा नै समरी सैनिक जनरल अदालतबाट दोषी ठहर भएका लबकुमार गुरुङ र सरोज तामाङले दायर गरेको पुनरावेदन निवेदनमाथि पनि बिहीबार सैनिक विशेष अदालतमा सुनुवाइ भएको थियो । तर उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षा सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा संलग्न इजलासले उक्त सुनुवाइ टुंग्याएन ।
अभियुक्त ढकालले हत्यामा प्रयोग गरेका बडी नम्बर केआर १००७९२ एस एम जी हतियार चोरीको अभियोगमा कालिबहादुर गणमा कार्यरत उदयपुर गाईघाट घर भएका सिपाही लव गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका सरोज तामाङलाई २०७५ चैत १८ बाट गणना हुने गरी सजाय तोकिएको छ । श्री समरी जनरल सैनिक अदालत, मुकाम कालीबहादुर गण भरतपुरले लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष कैद सजाय तोकेर जेल चलान गरेको थियो । हाल दुवै जना जेलमै छन् ।
(Feature Image : HimalSanchar)