संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको घटनास्थलमा सोमबार दिउसो प्रहरी र जनप्रतिनिधि पुगेका छन् । घटना स्थलमा पुगेका मादी नगरपालिका प्रमुख विदुर लिङ्थेपले घटनास्थलबारे जानाकारी दिएका छन् । लिङ्थेपका अनुसार मृतकहरुको शव विभिन्न स्थानमा विभिन्न अवस्थामा पाइएको थियो। उनका अनुसार घरमुली ससुराको शव घरदेखि ७० मिटर पर टाउकोमा अलिकति रगत देखिएको र कोखामा छुरी हानेको जस्तो अवस्थामा भेटिएको थियो । त्यस्तै सासु र बुहारीको शव अलि वर बीचमा भएको खोल्सीमा लडाइएको अवस्थामा भेटिएको थियो भने बुढी सासुको शव घरमै ओछ्यानमै सिरक ओढाएरै सुताइएको अवस्थामा रहेको थियो । त्यस्तै, छोरा–छोरीको शव घरदखि २० मिटर जति माथितिर भेटिएको थियो ।
नगरपालिका प्रमुख विदुर लिङ्थेपका अनुसार घटना भएको घरमा दुई वटा भैंसी थिए । कुखुरा–बाख्राहरु छोडिएको अवस्थामा थिए । घरधनी ससुराले लुगा जुत्ता लगाएको अवस्थामा थियो । यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ ।
(समाचार स्रोत : कान्तिपुर )