संखुवासभा – गत सोमबार मादी नगरपालिका–१ उमलिङमा एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना २६ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई चैनपुरमा सार्वजनिक गर्ने जनाएको छ ।
यसअघि केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको प्रहरीले अरु कसैलाई पक्राउ नगरेको बताएको छ । शुक्रबार थप एक जनाको अनुसन्धान गरेको र सोहि दिन नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी भीमबहादुर दाहालले बताएका छन्।
घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचाल भएको थियो । मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।
(यो समाचार कान्तिपुरमा प्रकाशित छ )