
“ओए, सुन्न । कहाँ हराएको थिइस ?”
आफ्नै धुनमा एकतमास हिडिरहेको मलाई कसैले सोध्यो । को रहेछ भनेर फर्किएर यता उता हेर्दा देखे, सिमलको रुख पछाडिबाट टाउको मात्रै निकालेर उभिएको उसलाई ।
आकाश खाली थियो अनि धर्ती अरु दिनहरु भन्दा उज्यालो । चार/पाँच दिन देखि लगातार पानी परिरह्यो । एकक्षणको लागि पनि नरोकिएर परिरह्यो बेतमास, बेहिसाब । यी चारदिन जादुपुरको आकाशबाट बादल हराएन । जादुपुर झरिमा रुझिरह्यो ।
रातभरी पानीको आवाज सुनेर जब बिहान ब्युझे । आकाश अरु दिनहरु भन्दा सौम्य देखियो । केही थान सेतो बादलको टुक्राहरु आकाशमा फिजिएको थियो । भुइकुहिरोले जादुपुरको उत्तर पट्टिको घनघस्या लेक ढाकेको थियो । आकाशको पश्चिम् भर्खरै उदाएको सुर्यको रङ्गमा रङ्गिएर पहेलिएको थियो । मन्द घामको उज्यालोमा पारिवनको एकभाग हरियो रङ्गमा टलक्क टल्केको थियो । पारिवनको फेदमा बगिरहेको यमुना नदिबाट उदाएर इन्द्रधनुष माथी माथी आकाशमा पुगेर बिलायो कतै ।
धेरै दिन देखि मन भारी भारी थियो । जादुपुरको मान्छेहरु बाहिरको तुफानको त्रासमा थिए । म भने अन्तरमन भित्र चलिरहेको आफ्नै बिचारहरुको द्वन्द्वको त्रास सङ्गै बसेर गफ गर्दै थिए । सुरुसुरुमा मलाई डर लाग्थ्यो । आफ्नै मनको बगैचामा जन्मेका करोडौं बिचारहरुले मलाई सुत्न दिदैन थिए । तर एकासी एक साझ यमुना नदिको किनारमा एक्लै बसिरहेको बेला मेरो आखा पानी हेर्दै रोकियो ।
पानी । हिमाल बाट बग्दै चिसो पानी ठूलो गडगडाहट सङ्गै पहाडको बाटो झर्छ । बिस्तारै शिथिल हुँदै समथल भु-भागबाट बग्दै पानी समुद्र सम्मको यात्रा गर्दै समुद्रमा गएर मिसिन्छ । मलाई एकदिन पिताले हात समात्दै भन्नूभएको थियो । “यसै उसै जिन्दगीमा केही कुरा सङ्ग नडराएस । तलाई थाहा छ छोरा ? मान्छे पानी हो । तर मान्छेको विचारहरु पानी होइनन । त्यो त पहाडको बाटो गड्गडाहट गर्दै झर्ने पानीको आवाज मात्रै हो । विचारहरूको आवाजले कहिले नडराउनु । त्यो भित्र नियालेर हेर्नु र खोज्नु तिनीहरूले आफूसँग लिएर आउने असीम मौनता । माैनता आकास जस्तै बिशाल हुन्छ जो सदावहार फैलिरहन्छ । बिचारहरु हेर्नु अनि बिस्तारै शिथिल हुँदै शून्य हुनु छोरा । जसरी पानी गड्गडाहट पछि शिथिल भएर समुद्रमा मिसिन्छ, आफू हिडेको बाटोको रुप बिर्सेर खोला समुद्रकोको आकार लिएर समुद्र हुन्छ त्यसरि नै एक्लोपन अनि जिवनको अर्थको खोजमा गुम्सिएर बसिरहेका बिचारहरु मनको साङ्हुरो गल्लिहरु बाट निक्लन्छन अनि जब जब त त्यसलाई हेर्छस बिस्तारै ती एकान्तमा बदलिन्छन । एक्लै हुनबाट बच्ने त बिस्तारै एकान्त मन पराउन थाल्छस । बिस्तारै त त्यो एकान्तपन हजारौको भिड बिचमा पनि आफुमा फैलिरहेको पाउछस । अब समाजको कुनै कुराले पनि तेरो मनलाई कन्टामिनेट गर्न सक्दैन आफ्नो बिश्वास, मान्यता र समाज सङ्ग जोडिएका कुराहरुको आधारमा ।
यमुना नदिको पानीमा आँखा अडिए पछि मैले बर्षौ अघि पिताबाट सिकेर बिर्सेको कुरा फेरि थाहा पाए ।
यमुना नदि माथी हिमालबाट बग्दै आउँछ । यमुना नदिको जल अति मीठो हुन्छ ।
मलाई आमैले भन्नुभएको थियो, हिमालबाट बगेर जङ्गलको बाटो आएको पानीमा जडिबुटिहरु मिसिएका हुन्छन । त्यो बेला आमाले भनेको कुरा सम्झदा मलाई लाग्थ्यो मान्छे भएर जन्मिसकेपछी अदभूत अनुभव बोकेको हुन्छ जिवनले तर कंकृट जङ्गल अनि कृतिम सुन्दरताले बिस्तारै हामीबाट जिवनमा अर्थ राख्ने आधारहरु खोस्दै लग्यो । यमुना नदिमा त्यस्तो पानी छैन जुन पानी आमैले भन्नू हुन्थ्यो ।
आमैले साझ जाडो महिनामा अगेनामा आगो ताप्दै गर्दा तारा हेरेर लामो स्वास फेर्दै भन्नुभएको थियो । हेर छोरा यो संसारमा पानीलाई केहि कुराले दुषित बनाउदैन । दुषित पानी बग्दै गए पछि आफै सफा हुँदै जान्छ । तेरो बिचारहरुलाइ जब त रोक्न नखोजेर बग्न दिन्छस अनि केवल नियालिरहन्छस, ती बिस्तारै सफा हुँदै जान्छन । र यसरी मलाई पिता र आमैले पहिलो चोटि जिवनको गहिरो समझ दिनुभएको थियो । म ठूलो हुँदै गए पछि बिर्सिदै गएछु तर यमुना नदिले मलाई फेरि बोध गरायो जसपछी मैले त्यो कुरा कहिले बिर्सेन । र यसरि हरायो मेरो अन्तरमनमा हुने द्वन्द सङ्गको त्रास जो सङ्ग घन्टौ बस्न अचेल मलाई मजा लाग्छ । त्यही दिन मैले गहिरिएर बुझे मान्छे बिचार पनि हो ।
एउटा अदभुत अनुभव थियो, जस्ले मलाई जिवन्त बनायो । यमुना नदिको पानीले फेरि मलाई जिवनको बोध दियो ।
म त्यहाँबाट उठेर हिडे । जिन्दगी भरी म हिडिरहेको त थिएनी । तर आजको हिडाइ सङ्ग थियो एउटा गहिरो बोध । मैले बुझ्न नसक्ने एउटा नौलो अनुभव महसुस गर्दै म हिडिरहे, गाउको कच्चिबाटो, चराहरुको आवाज सुन्दै । जङ्गलको अदभुत सुन्दरता आफू भित्र भर्दै । त्यहिबेला त सुनेको थिएनी मैले त्यो आवाज ।”ओए सुन्न । त कहाँ हराएको थिस ?” सिमलको रुख पछाडि थियो मेरो अतीत । मेरो बालापनको छाया जस्ले मलाई बोलाइरहेको थियो । जति उमेर बढ्दै गयो म बिर्सदै गए जीवन । जब मैले बालापनको आकृती देखे, उस्को आखामा मैले त्यही आनंद देखे जो म भित्र घटित भैरहेको थियो र म फेरि बच्चा जस्तै भए जो सिक्न खोज्छ ।
म सानै छदा जो कुरा म भित्र थियो, त्यो फेरि जिवन्त भएर आयो । रिचर्ड बाखले इलुजन्समा लेखेका थिए, सिक्नु भनेको तपाईंले पहिलेनै थाहा पाउनु भएको कुरा पत्ता लगाउनु हो । र म यसरी अलौकिक आनंदको अनुभूति सङ्गै डुबे आफै भित्र रहेको संसारमा । सिमलको पछाडिबाट उ आफै कतै ओझल पर्यो फेरि । जाँदै गर्दा उस्का गहिरा, ठुला, काला आखाले मलाई भनेको थियो, अब यो अनुभव जान नदिनु कहिले ।
कथा अधुरो छ । मेरो जीवन जस्तै । मेरो प्रेम जस्तै । मेरो सपना जस्तै । म फेरि फर्किएर आउने छु आफ्नो अधुरो कथालाई एउटा पुर्ण अन्त्य दिन । अधुरोपनको छट्पटी भित्र बेग्लै अतृप्त आनंद लुकेको हुन्छ र मलाई प्रेम छ त्यो छट्पटी सङ्ग जस्ले मलाई रोकिन नदिएर सधै हिडाउन खोजिरहन्छ शान्त गराएर, शुन्य गराएर एउटा शानदार मिर्त्युको लागि । अधुरोपन मेरो दुख होइन बरु आनंदको कारण भएर आउँछ जस्ले मलाई सिकाउछ आफुमा हुने कमजोरी बारे ।
कुनै दिन म निक्लेको थिए जिवनको खोजमा । हिड्दा हिड्दै मैले जीवन भेटाए । त्यही भएर म अक्सर भन्छु, हिड्दै गर नरोकिएर । रोकिनु परे फर्किएर आफ्नो अतीत लाई हेर । कति टाढा जानुछ र कती टाढा आएको बिचारको बिचमा एउटा खाली स्पेस हुन्छ । त्यो खाली स्पेस जहाँ हरेक कुरा केही क्षणको लागि रोकिएको हुन्छ । त्यो खाली स्पेस आकाश हो । तिमी आकाश हौ जस्को कुनै अन्त्य छैन र अनन्तता सम्म फैलिरहन्छ । इन्तजार गर्नु म फर्किए आउनेछु यसलाई पुर्ण अन्त्य दिन एउटा अर्को अधुरो कथा ल्याएर ।
पोडकास्ट :