संखुवासभा – संखुवासभाको मादीमा भएको सामुहिक हत्या प्रकरणमा प्रहरीले घटनाका मुख्य आरोपी लोक बहादुर कार्कीका भाई नरेश कार्कीलाई पनि पक्राउ गरेको छ।
नरेशमाथि सोधपुछ भइरहेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डमा हत्या गरिएका ६ जना मध्ये बुहारी ३२ वर्षीय रन्जना कार्कीले प्रयोग गरेको मोबाइल नरेशबाट प्रहरीले बरामद गरेको छ ।
संखुवासभा जिल्लाको मादी नगरपालिका वार्ड नम्बर १ खोलागाउमा २१ भदौ सोमबारको दिन ५२ वर्षीय तेजबहादुर कार्की, उनका ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्याको मुख्य आरोपी लोक बहादुर कार्कीलाई पत्रकार सम्मेलन गरी गत आइतबार सार्वजनिक गरिएको थियो ।