क्यानडा – क्यानाडाको एडमन्टनमा सिर्डि साईबाबा मन्दिरले यही आउदो सेप्टेम्बर १८ र सेप्टेम्बर १९ तारिकका दिन “अल्बर्टा सांस्कृतिक दिवस” मनाउदैछ। अल्बर्टा सांस्कृतिक दिवसको अवसरमा सिर्डी साईबाबा मन्दिरले विविध सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी, बहु सांस्कृितिक नृत्य, गीत संगित, भजन प्रदर्शन आदिको आयोजना गर्दैछ। कार्यक्रम दुवै दिन दिउसो ३ बजे देखि बेलुका ७ बजे सम्म हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल , भारत तथा श्रीलंका र फिजीका कलाकारहरुको प्रस्तुति सहित वहुहुराष्ट्रीय गीत संगित तथा कला प्रदर्शन हुने नेपालका तर्फबाट आयोजक कमिटिका प्रतिनिध रन्जन कोईरालाले बताएका छन् । सिर्डी साईबाबा मन्दिर परिसरको खुल्ला चौरीको स्टेजमा हुने कार्यक्रममा विभिन्न राष्ट्रले आ आफ्नो स्टल राख्ने उनले जानकारी दिएका छन् ।
नेपालका तर्फबाट गायक तथा कलाकार निश्चल नेपालले आफ्नो गायन कला प्रस्तुत गनुका साथै कलाकारहरु रसिका कोइराला, बिना ज्ञवाली इत्यादिको सहभागिता रहने भने बाल कलाकार किन्जल नेपाल र सलोनी जोशीले उत्साहजनक प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ ।
बिदेशी भुमीमा नेपाली कला र संस्कृतिको विकास तथा प्रबर्धन गर्ने उद्धेश्यले नेपालले यो बहुराष्ट्रीय सांस्कृतिक भेलामा सहभागिता जनाएको बताउछन प्रतिनिधि रन्जन कोईराला।
अल्बर्टा सरकारले हरेक वर्ष अल्बर्टा सांस्कृतिक दिवस मनाउदै आएको छ जसमा नेपालले पहिलो पटक गत वर्ष सहभागिता जनाएको थियो। अल्बर्टा सरकारले अल्बर्टा सांस्कृतिक दिवस यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म मनाईरहेको छ।
क्यानेडियनबासीहरुलाई स्थानिय कार्यक्रमहरुद्वारा विविध कला र संस्कृतिको अनुभव गराउन बलियो आधार साबित हुन पुगेको अल्बर्टा सांस्कृतिक दिवसले क्यानेडियनबासीहरुलाई बहुराष्ट्रीय कला र संस्कृतिको माध्यमबाट एकजुट गरेको छ।
सिर्डी साईबाबा मन्दिर परिसरको खुल्ला चौरमा मनाउन लागिएको बिबिध सांस्कृतिक कार्यक्रम र कला प्रदर्शनीको प्रवेश निःशुल्क रहनुका साथै भोजन पनि निःशुल्क गरिएको कार्यक्रम आयोजकले बताएका छन।