किशोर निरौला ,
मधुमल्ला- मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ पर्ने वाइवा खोलाबाट चुरे क्षेत्रमा ब्रेक्रर लगाएर खोला उत्खनन् गर्दै गरेको अवस्थामा दुई थान टिपर र एक थान स्काभेटर नियन्त्रणमा लिइएको छ । वाइबा खोलामा करिब एक किलोमिटर क्षेत्रमा खोलामा भएका ठुलाठुला ढुङ्गाहरुमा ब्रेकर लगाई फुटाएर अन्यत्रै बिक्री गरिएकोे बताईएको छ । गत आइतबार बिहान करिब ११ बजेको समयमा मिक्लाजुङ वडा नं. ४ पर्ने वाइवा खोलबाट ढुङ्गा लोड गर्दै गरेको अवस्थामा स्काभेटर र टिपरको चाबी नियन्त्रणमा लिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बुद्धीमान लिम्बुले बताए । कमेरे माटो भएको ठाउँमा खोला भित्र रहेका ठुला ठुला ढुङ्गाहरु फुटाई स्टोर गरेर त्यहाँ बाट अन्यत्रै लाने गरेको भेटिएको लिम्बुले बताए ।
ठुलो मात्रामा चुरे क्षेत्रको खोलाबाट ढुङ्गाहरु उत्खनन् भइ बाहिरिदा स्थानीय सरोकारवाला र टाँडी प्रहरी चौकी समेत बेखबर हुनुले गम्भीर संका उब्जाएको छ । सबै तिर खोला उत्खनन् पुर्ण रुपमा बन्द भएको र सुनशान एकान्त ठाउँमा चरम उत्खनन् गरेको भेटिएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । नियन्त्रणमा लिएका सवारी साधनहरु हाल टाँडी प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ । चुरेक्षेत्रलाई नै तहस नहस पार्ने गरी तथा गाउँ बस्तीमा समेत जोखिम पर्ने गरी चुरे क्षेत्रका ठाडा र भिराला खोलाहरुमा गरिएको उत्खनन्ले गम्भिर समस्या निम्त्याउने गाउँपालिका अध्यक्ष आचार्यले बताए ।
यो कुनै भुलबस भएको गल्ति नभई बदनियत पुर्ण तरिकाले खराब मनशाय राखी गरेको गम्भीर प्रकृतिको कार्य भएको पनि आचार्यले बताए । गम्भिर किसिमको प्राकृतिक स्रोत माथि दोहन गरेको भेटिएको र यसले गाउँ बस्तिमा समेत ठुलो क्षती पु¥याने भएकाले अब यो बिषयलाई कानुन अनुसार अगाडि बढाउने आचार्यले बताए । मंगलबार स्थलगत रुपमा खोला उत्खनन् भएको स्थानकोे निरीक्षणमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राई सहितको टोलीले स्थलगत निरीक्षण गरेका छन ।
किशान चोक रमिते सडकमा निर्माणको काम गरिहेका ठेकेदार बाबुराज खड्काले सो उत्खनन गरि ढुङ्गा लगेको पाईएको छ । खड््काले स्थानीयलाई सोही ठाउँ भएर दैते जाने बाटो निर्माण गर्ने आस्वासन दिएर त्यहाँको ढुङ्गा अन्यत्रै लागि बिक्री गरेको पाइएको छ । आफुले किशान चोक रमिते सडकमा ति ढुङ्गा प्रयोग गरेको जिकिर खड्काले गरेका छन ।” चुरे क्षेत्रमा अन्धाधुन्धा तरिकाले ठुला मेसिनको प्रयोग गरी किन अबैध काम गरि रहनुभएको ? ” भन्ने हाम्रो प्रश्नमा ठेकेदार खड्काले स्थानिय वासीको नम्बरी जग्गामा भएको खोला भएकाले स्थानीय संग समन्वय गरेको र ढुङ्गा लगेको भन्दै आफ्नो बचाउ गर्दै दोषबाट पन्छिने प्रयास गरेका छन । खड्काले गल्ती भएको पनि स्विकार गरेका छन् ।
स्थानीय वासीहरुले वडा नं. ३ बाट वडा नं. ४ को दैते जाने सडकमा धेरै समस्या भएको र पटक पटक वडा नं. ४ संग योजना माग गर्दा समेत कुनै योजना नदिएकाले ठेकेदारलाई आफनो खेतमा पर्ने खोलाको ढुङ्गाहरु स्थानीयहरु मिलेर लान दिएको स्थानीय नगेन्द्र लिङ्देनले बताए । तर चुरेक्षेत्रमा मेशिन प्रयोग गरी खोला उत्खनन् नहुने भन्ने आफुहरुलाई थाहा नभएको पनि उनले बताएका छन् ।