सविन घिमिरे,
नेपालमा रहेको अल्पसंङ्ख्यक जातिमध्ये आठपहरिया राई पनि एउटा जाति हो ।धनकुटा जिल्लाको जलहरा, खाल्सा, बेलहरा र भीरगाउँमा आठपहरिया राई जाति स्थायी रूपमा बसोबास गर्दै आएका छन् । यी जाति धनकुटा बाहेक अन्य जिल्लामा कतै नभएको बताइन्छ । पूर्वी नेपालको धनकुटा क्षेत्रमा मात्रै बसोबास रहेको आठपहरियाहरुलाई दशैंको कुनै महत्व नै छैन। उनीहरु दशैँ मनाउदैनन र दशैं आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका आठपरिया जातिका दुई पुजारी रामलिहाङ र रिदामाको प्रसंग आठपहरिया समुदायमा आइहाल्छ। उनीहरुले यस दिनलाई कालरात्रीको दिनको रुपमा स्मरण गर्छन। ती पुजारीहरुलाई दशैं नमान्दा दशैँ नमनाएको कारण झुण्ड्याएर मारिएको थियो भन्ने मान्यता आठपहरिया समुदायमा रहेको छ। दुवैले अनिवार्य रुपमा दशैं मनाउन जारी गरिएको सरकारी आदेशको अवज्ञा गरेपछि झुण्ड्याएर मारिएको कुरा यहाँका स्थानिय आठपरियाहरु वताउछन।
धनकुटाको चुलिवन नजिकै झुण्ड्वा भन्ने गाउँ छ । राणाकालमा मानिस झुण्ड्याएर मार्ने ठाउँ भएकोले यो ठाउँको नाम पनि झुण्ड्वा गाउँ रहन गएको हो भन्ने भनाई छ । चुलिवनमै ती दुई सहिदहरुको स्मारक पनि बनाइएको छ । धनकुटाको चुलिवानालाई सहिद रामलिहाङ्ग र रिदामा स्मृति पार्क घोषणा गरि सकिएको छ ।
दशैँको विषयमा विभिन्न पुस्तकहरु तथा व्यक्तिहरुबाट धेरै कथनहरु सुन्न र पढ्न पाइन्छ । राज्य विस्तारको क्रममा शाह राजाहरु विभिन्न क्षेत्रमा प्रवेश गरे । पूर्वमा वसोवास गर्ने लिम्बू , राई तथा किरातहरुले दशैं नमान्दा गोरखा राजावाट विभिन्न कार्वाहीहरु हुन सक्ने भएकोले दशैं पर्व केही जातिहरुलाई जवरजस्ती मान्न लगाईएको मुन्धुमविदहरु वताउछन। वि सं १८४३ मा रणबहादुर शाहले दशैं अनिवार्य मान्नु भनि लालमोहर दिए। दशैं नमान्नेहरुलाई कार्वाही गर्न शुरु गरियो। दशैं सकिए पछि दशैं माने की मानेन् भनेर फेरीवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले पठाउँथे। गाँउ गाँउ जोगीको भेषमा पुगेका गोरखनाथहरुले गरेको खबरिको आधारमा दशैँ नमान्नेहरुलाई विभिन्न्न किसिमका कारवाहीहरु हुने गर्दथ्यो।
आठपहरिया जातिको आफ्नै मुन्धुम ,रितिरिवाज, परम्परा अनुसार होम्बारक सामेटको हांग पुजारीले असोज महिनामा पानी माग्नको लागि खाम्चेखोला को पानी चोंग्शोंग्मा वनको देउरालीमा पानी चढाउन र सो पानी लगेर देउराली अडूवा उत्पतिमा लगेर लिप्ने चलन छ। १८६७ मा रिदामाहांग आठपहरिया र रामालीहांग आठपहरियाले खाम्चेखोला को पानी चोंग्शोंग्मा वनको देउराली आडुबा उत्पतिमा लिप्नको
लागि जादा, राणा शासकहरुले सुइँको पाई जबर्जस्ती जंग बहादुर राणाका सेनाहरुले दशैँ मनाउना उर्दी छ भन्दै टिका लगाउन खोजेको कथा रहेको धनकुटाका आठपहरियाहरुको मान्यता छ । महानवमि को दिन बोका, राँगा,खसि काटेर बली चढायो कि चढाएन भनी घर घरमा चेक गर्न सुराकीहरु आएका थिए । त्यो समय दशैँ मनाएको प्रमाण स्वरुप आलो रगत लागेको ५ औंलाको छाप घरमा लगाउने पर्ने नियम थियो । त्यस समय द्वय आठपहरिया हांग पुजारीहरुले हाम्रो आफ्नै चाड छ हामी दशैं मनाउदैनौ भनी इन्कार गरेका थिए । हुकुम पालना नगरेको भनेर हत्या गरि दुई पुजारीहरु रिदामाहांग आठपहरिया र रामालिहंग आठपहरिया कै आलो रगत चामल सित मुछेर टिका बनाइ आदिवाशी जनजातिहरुको निधारमा जबरजस्ती लगाइ दिएको र रगतले ५ औंलाको छाप प्रत्येक घरको मूल ढोकामा हानिएको कथन आठपहरिया समुदायमा सुन्न पाइन्छ । त्यसपछि सम्पूर्ण आठपहरिया जातिहरुलाई टिका लगाउन लगाई, चिनोको रुपमा ढोकाको दलिनमा आलो रगतले चिनो लगाउन उर्दी लगाइयो । यसै इतिहास र मान्यता अनुसार अहिलेसम्म अठपहरियाहरुले दशैँ मनाउदैनन ।
आठपहरियाहरुको चाडपर्व
आठपहरिया राईहरूका मुख्य पर्वहरू ओमडाक, बैशाखी चाड, चामननुगी वा भदौरे चाड र छोङ्ला राङमा वा मङ्सिरे चाड हुन् । । यस अवसरमा बाराहजी र मार्गको नाममा पुजापाठ, आराधना प्रार्थनाहरू संयुक्त रूपमा नै गरिन्छ । दुवैको नाममा सामुहिक रूपमा आठपहरिया राईहरू भक्तिगीत वा आराधना गर्ने र नाच कीर्तनहरू गर्दछन् । आठपहरिया राईहरूको महत्वपुर्ण चाड मध्ये चामनुगीभदौ महिनामा पर्दछ ।
चामनुगिको अर्थ नयाँ वस्तु घरमा भित्र्याउनु हो । भाद्र महिनामा खेतबारीमा पाकेको मकै घर भित्र्याउने पर्व पितृलाई चढाउनु भन्ने मान्यता रहेको छ । पितृलाई मकै र धान चढाउने रीतलाई नै यिनीहरूको भाषामा चामनुंगी भनिन्छ । यो चाडमा आठपहरियाहरुले आ –आफ्नो घरभित्रको मूल देवताहरूलाई पुजाआजा गर्ने चलन छ । पुजा गर्दा जाँड, रक्सी, फल , लसुन , सुंगुरको मासु चढाइन्छ । त्यसबेला आफ्नो परिवारमा सुख शान्ति मिलोस् भनेर पुजा गर्ने चलन रहदै आएको छ । यस पर्व घरको मूल चुलोमा पुजाआजा गरिन्छ । यो चाडको बेलामा गाउँघरमा पिङहरू राखिएका हुन्छन ।
यस जातिको अर्को महत्वपूर्ण चाड ओमडाक हो जुन बैशाख महिनाको बुद्ध जयन्तीको समयमा पर्दछ । ओमडाक चाडमा ‘पाङदाङ्वा’को पुजा गरिन्छ । ओमडाक एक हप्तासम्म मानिन्छ । पहिलो दिनको बिहानी पख आठपहरिया राईहरू सबै नुहाई धुवाई गरी पुजाआजाको कार्यपछि खीर खान्छन् । पाङदाङवाको पुजा गर्दा चारै तिर शुरुमा दियो कलश राखिन्छ । केराको पातमाथि जाडरक्सी, मासु , फल , अक्षता र अन्य परिकारको मिश्रणले पुजा गरिन्छ । चढाइएको सबै खानेकुरा सोही ठाउँमा बसेर प्रसादको रूपमा खाने चलन छ । ओमडाकपछि बालीनाली सप्रन्छ भन्ने जनविश्वास छ । यो चाडको समयमा धनुष बाण हान्ने खेलको आकर्षक देखिन्छ ।
आठपहरिया राईहरूको समुदायमा वर्षभरिमा परेको मृत्यु , शोक सामुहिक रूपमा उतार्ने वाडाङ्गी पर्व एक महत्वपुर्ण पर्व हो । वर्षभरिमा मृत्यु भएका परिवारमा सम्पूर्ण सदस्य तीन दिन हिडेर सुनसरीको वराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री, खौरेर भगवान् बराहको दर्शन गरी वरखी फुकाउने चलन छ । यो चाडमा बुबा आमाको दुख बोक्नेले कपाल काट्ने, ‘दसि’ सहित केश बगाउने र छोराछोरी मर्नेका बुबा आमा आएर पनि ती छोराछोरीको नाममा दसि बगाउने प्रचलन रहेको छ । बरखी सम्पन्न गरी चौथो दिन घर फर्किएर नाचगान गरेर यो चाड मनाउने चलन छ ।यस अवसरमा भक्ति गाउने, ढोल, मारूनी, डल्लो नाच नाच्ने इत्यादि गरिनुका साथै रागाँको मासु , कुभिन्डो र फिलुङ्ग्गेको अचार लगायतका परिकारहरु खाने गरिन्छ।
( यहाँका तस्बिरहरु सामाजिक संजालबाट लिइएको हो । यसको सम्पूर्ण श्रेय सम्बन्धित फोटोग्राफरहरुलाई जाँदछ ।)