विराटनगर, २५ असोज २०७८ । विकल्प एन अल्टरनेटिभको आयोजना र एट्लस नेटवर्कको सहयोगमा भदौ २५ देखि २९ गतेसम्म आयोजित ५ दिने फिल्म मेकिंग तालिम पश्चात तालिमका सहभागीहरुद्वारा तयार गरिएको सिनेमाहरुको प्रदर्शन कार्य सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको फिल्म स्क्रिनिंग कार्यक्रममा समसामयिक सार्वजनिक नीति,अर्थ-राजनीति, व्यक्तिगत तथा आर्थिक स्वतन्त्रताका विषयलाई समेटेर बनाइएका चारवटा छोटो चलचित्रहरु प्रदर्शन गरिएको थियो ।
सहभागीहरुले बनाएको पहिलो सिनेमा “अभिव्यक्ति” ;स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको स्वतन्त्रताको विषयसँग सम्बन्धित रहेको थियो, जसमा स्वतन्त्र रुपले आफ्नो विचार राख्न पाउने विषयलाइ प्राथमिकतामा राखिएको थियो। दोस्रो सिनेमा “बेथिति” ले लक-डाउनको समयमा समान्य नागरिकहरुले दैनिक जीवनमा भोग्नु परेका समस्याहरुलाई उजागर गरेको थियो। त्यसैगरी तेस्रो समूहले तयार गरेको चलचित्र “बाध्यता” पनि कोभिड-१९ ले नागरिकहरुको जिवनमा पारेको प्रभावाको बारेमा नै केन्द्रित थियो भने चौथो समूहले बनाएको चलचित्र “प्रतिस्पर्धा” ले राज्यको झन्झटिलो नियम-कानुन तथा पहिले नै आफ्नो स्थान जमाएर बसेका व्यापारले कसरी बजारमा नया विचार, वस्तु तथा सेवालाई प्रवेशमा रोक लगाई नयाँ प्रतिस्पर्धिलाई निरुत्साहित गरिन्छ भन्ने कुरा दर्साएको थियो।
कार्यक्रममा सहाभागी लगायत कलाकारहरुको परिचय गराई, उनीहरुको अनुभव आदानप्रदान गर्नुको साथै प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा अतिथिको रुपमा वेक अप कफिका निर्देशक अभिनायक मल्ल, भ्रस्टाचार बिरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ, पुर्वान्चल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. सन्देश दास श्रेष्ठ, हिमालय दर्शन कलेजका फाउन्डर भेषराज पोखरेल तथा प्रिन्सिपल भरत सापकोटा, उद्योग संगठन मोरंगका पुर्व-उपाध्यक्ष राकेश सुराना, एन सी पी डि का संस्थापक रेवती रमण ढकाल तथा सह-संस्थापक विशाल राई, कालोपर्दा मिडिया एण्ड पब्लिकेशन्सका संस्थापक सविन घिमिरे, नेपाल टाइम्सका डाइरेक्टर सहिन्शा सिद्दिकी आदिको उपस्थिति रहेको थियो । यस कार्यक्रमको मेण्टरको भूमिका राहुल शाह , पुनम गिरी , रत्न ज्योति शाक्य , रिवाज दाहाल तथा सर्वज्ञराज पाण्डे लगायतले निर्वाह गर्नुका साथै कार्यक्रम संयोजनको भूमिका सुमन राईले निभाउनु भएको थियो । कार्यक्रममा डा. सन्देश दास श्रेष्ठ र भेषराज पोखरेलले आफ्नो मन्तब्य भनाई पनि राख्नु भएको थियो ।
सोमबार दिउसो ३ बजे देखि साँझ ५ बजे सम्म आयोजित सो कार्यक्रम हिमालय दर्शन कलेज विराटनगरको सभा हलमा सम्पन्न भएको थियो जसमा १ सय ३७ जनाले सहभागिता जनाएका थिए l कार्यक्रमको उद्घोषण र सहजीकरण विकल्प-एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले गर्नु भएको थियो । यी चलचित्रहरु केहि महिनामा अंग्रेजी सब्स्टाइटल सहित युट्युबमा प्रशारण हुने जानकारी पनि वसन्त अधिकारीले दिनुभएको छ ।