विराटनगर – विगतका बर्ष झैँ यस वर्षपनि विकल्प एन अल्टरनेटिभको सहकार्यमा विराटनगरका युवाहरूले पुस्तकालय संचालनको निम्ति किताब मागेर देउसी खेल्ने परम्परालाइ निरन्तरता दिएका छन् । युवाहरुले खेल्ने यस देउसीमा पैसाको साटो किताब नै मागेर देउसी खेल्ने गरिँदै आइएको छ।

कसैले किताब र कसैले पैसा समेत दिने हुदा, संकलन भएको रकमले किताब, किताब राख्ने दराज तथा लाइब्रेरीमा आवस्यक पर्ने अन्य खरिद गरी विकल्पको लाइब्रेरीमा राख्ने गरिन्छ, जसले किताब पढ्न इच्छा भएका मानिसहरुलाइ निरन्तर रुपमा निशुल्क सेवा प्रदान गर्दछ ।

स्वस्फुर्त रुपले २७ जना युवाहरु सहभागी भएको उक्त देउसी कार्यक्रम ८ घरमा खेलिएको थियो। जसमा १२ थान किताब र तेह्र हजार पाँच सय रुपैया संकलन भएको व्यवहोरा संयोजक सुमन राइले जानकारी गराए ।
युवाहरुमा पढ्ने संस्कारको महत्वलाइ प्रबर्द्धन गर्न, वर्ष दिनको चाडबाडलाइ रमाइलो संग मनाउन तथा सकारात्मक सामाजिक संदेश प्रदान गर्नको निम्ति यस किसिमको देउसी खेल्ने परम्परालाइ बिराटनगरमा सन् २००७ देखि संचालनमा ल्याइएको हो ।
