काठमाडौं- फेसन नेटवर्क नेपाल (एफ एन एन ) ले नो सेभ नोभेम्बर अभियानलाई समर्थन गर्दै यस अभियानको बारेमा चेतना जगाउने तथा क्यान्सर सचेतनाका लागि काम गर्ने उद्देश्यका साथ क्यान्सरसँग लडिरहेकाहरूलाई आर्थिक सहयोग गर्न नो सेभ नोभेम्बर – फेसन फर कज कार्यक्रम आयोजना गरेको छ। २७ नोभेम्बर अर्थात् यही शनिबार दिउँसो ३ बजे ठमेलस्थित छाया सेन्टरमा आयोजना गर्न लागिएको यस कार्यक्रम अन्तर्गत “वक द रनवे ” ले विभिन्न व्यक्तित्व , कलाकार तथा सर्वसाधारणलाई एकै ठाउँमा ल्याउई क्यान्सरसम्बन्धी जनचेतना जगाउनुका साथै क्यान्सर पीडितहरुको लागि आर्थिक तथा विभिन्न सहयोग सङ्कलन गर्ने उद्धेश्य राखेको छ ।
यस दिन विभिन्न क्षेत्रका व्यक्तित्व तथा चर्चित कलाकारहरुले क्यान्सर सम्बन्धी जनचेतना जगाउने किसिमको आवाज उठाउँदै रन वे मा हिड्ने छन् । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिका साथै स्टलहरु पनि रहनेछ।
एक हजार रुपैया इन्ट्री फि रहेको यस कार्यक्रमका सहभागी लाई फेसन कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले रन वे मा र्याम्प वक गर्नको लागि गाइड गर्नेछन्। सहभागीले आफ्नै छनौटको आफ्नै पहिरन पनि लगाउन सक्ने हुनाले यसमा पहिरनको बन्देज रहेको छैन। इन्ट्री फि बाट सङ्कलित सम्पूर्ण रकम क्यान्सर पीडितहरुलाई सहयोग गर्ने आयोजकले बताएको छ। यस कार्यक्रममा दारी ग्याङ लगायतका विभिन्न संस्थाले साथ दिएको छ।