भोजपुरको दक्षिणस्थित कावा खोलामाथिको निर्माणाधीन मोटरेबल पक्की पुल भाँच्चिएको छ। निर्माण पूरा हुन लागेको अवस्थामा रहेको पुलमा प्रयोग गरिएको स्टिल ट्रसको संरचना बीच भागमा भाँच्चिएको छ। २०७६ फागुनमा जिल्ला समन्वय समिति प्रमुख लक्षमण खड्का, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई र रामप्रसाद राई गाउँपालिका अध्यक्ष विजय राईले संयुक्त शिलान्यास गरेका भोजपुर-मानेभन्ज्याङ-रानीबास-घोडेटार सडकखण्ड अन्तर्गत पर्ने यो पुल एक वर्षमै निर्माण पूरा गर्ने योजना थियो।
स्विस सरकारको पाँच करोड अनुदान लागतमा निर्माण भइरहेको पुलको संरचना बीचबाटै भाँच्चिएर खोलामा झरेको छ। पुल ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ र एक दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी निर्माण भइरहेको थियो।
पुलको सिभिल निर्माणका लागि दुई करोड तीन लाख २४ हजार ३७१ मा कार्की बन्धु कन्स्ट्रक्सन कम्पनी विराटनगरले ठेक्का लिएको थियो।
केवल सपोर्टेड ट्रस, ओपन फाउन्डेसनको १ स्पानमा बनिरहेको पुलको दुवैतिर पक्की पिलर निर्माण गरिएपछि ट्रस जडान गरिएको थियो।
करिब ८० वर्ष टिक्ने दाबीसहित बनाउन थालिएको यो पुल भूकम्प प्रतिरोधी हुने बताइएको थियो। तर हावाहुरी नचली, कुनै भूकम्पले पनि धक्का नदिई यो पुल भाँच्चिएको छ।
(यो समाचार नेपाल खबरमा प्रकाशित छ )