काठमाडौँ – एमालेको दशौं महाधिवेशन अन्तरगत अध्यक्षसहित विवाद रहेका केही पदमा आज निर्वाचन हुने भएको छ । सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरेक अध्यक्ष केपी ओलीले अखिरमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिएको थियो तर भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचनको वातावरण बनेको हो । एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराइएको थियो। अध्यक्ष ओलीले विहान साढे ३ बजे १९ पदाधिकारी छानेका छन्। ओलीको उक्त प्रस्तावलाई हलले पारित गरेको छ । ओलीले पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची बन्दसत्रबाट अनुमोदन गराएका छन् ।
आइतबार मध्यरातमा शुरुमा बन्दसत्रमा ओलीले विधानअनुसार तीन सय एक केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । दोस्रो चरणमा ओलीले पदाधिकारीको नाम हलमा पेश गरेका थिए । ओलीले पेश गरेको सूचिमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा र सुरेन्द्र पाण्डे छन् । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमै लड्ने बताएका घनश्याम भुसाल भने ओलीको १९ सदस्यीय पदाधिकारीमा परेका छैनन् ।
ओलीले महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र विष्णु रिमाललाई अगाडी सरेका छन् भने सात सदस्यीय सचिवमा टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्याल परेका छन् । लेखा आयोगमा पुष्प कँडेल र अनुशासन आयोगमा केशव बडालको नाम पनि हलले अनुमोदन गरेको छ ।