बुढी तँ मेरो सेतै फुलेको कपाल सुम्सुमाउदै
किन मेरो बाटो छेक्छेस भन त?
किन छाम्छेस मेरो मुजै मुजाले श्रिङ्गारिएको अनुहार?
किन बिलौना गर्दै भन्छेस नजानु नजानु भनेर?
बुढी
म किन नजाउँ ?
म के गरौ यहि बसेर?
एक चोटि हेर त घाम, जुन र तारा देखिले हाम्रो घर।
अनि हेर हाम्रो छोराछोरिको हालत।
सम्झी साहुको ऋण तिर्न नसक्दाको तनसेनले खाईदिएको हाम्रो सर्वस्व रहेको
चार धुर जमिन ।
अनि बिहान बेलुकाको प्रत्येक छाकमा आशुको तरकारी संग ६ जनाले खाने १ माना चामल।
बुढि
म कसरी हेरौ ?
तेरो र छोरा छोरिको बर्सेनि भोको पेट
म कसरी हेरौ ?
पढाउन नसकेका छोराछोरिको मलिनो अनुहार ।
म कति हेरौ?
तिमिहरुको शरीरमा कुहिन लागेका
झुत्रा लुगाहरुको हरिबिजोग।
तैले नभन्नू सरकारले केही दिएन भनेर।
आज मलाई ठुलै चिज दिएको छ।
हरियो रंग भएको बाक्लो पाना भएको
बाहिर ठूलो अक्षरले खै के लेखेको किताब दिएको छ।
मैले चिन्ता नलिइ बस
म कमाएर पैसा पठाई दि हाल्छु
तैले लगेर तिरिदिनु ती
सामान्तिहरुको पैसा।
अनि
बनाउला सानो घर ।
किनि दिउला तिमिहरुलाई न्यानो र नयाँ लुगाहरु।
धेरै पढाउला छोरा छोरिलाई ।
गरौला तिनिहरुको बिहे
बनाऔला खुसी परिवार ।