विराटनगर – लायन्स क्लब अफ विराटनगर ग्रिनसीटिले विपन्न बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । ग्रिनसीटिको आयोजनामा विराटनगर ३ मा अवस्थित मदननगर आधारभूत विद्यालयमा अध्ययनरत २ सय १६ बालबालिकालाई स्विटर तथा टोपी वितरण गरिएको हो । जाडो मौसममा बालबालिकालाई नियमित विद्यालय आउन सहज होस् भन्ने उद्देश्यसहित न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष विश्वकान्त दाहालले बताउनुभयो । यस अघि ग्रीनसिटीले सोही विद्यालयको बालकक्षा रंगरोगन, भित्तेलेखन साथै सबै बालबालिकालाई स्टेशनरी वितरण कार्यक्रम आयोजना गरेको थियो ।
जिल्ला समन्वय इकाई मोरङका प्रमुख टंक गौतमको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । इकाई प्रमुख गौतमले सहयोगी दाताहरुले विद्यालयको आवश्यकता बुझेर सहयोग गर्नु अत्यन्तै प्रशंसायोग्य विषय रहेको धारणा व्यक्त गर्नुभयो । “सामुदायिक विद्यालयमा राज्यकोसँगै समाजको पनि दायित्व हुनुपर्छ ।” उहाँले भन्नुभयो, ‘समाजले सामुदायिक विद्यालयलाई चासो नदिएकै कारण विद्यालयहरु खस्कदो क्रममा छन् । सामुदायिक विद्यालयको विकास, विस्तार र सुधारमा समाजले यसप्रकारको सकृयता जनाउने हो भने विद्यालयहरु सुधारको यात्रामा बढन समय लाग्दैन ।’ राज्यले शिक्षा क्षेत्रमा कम बजेट छुटयाएकै कारण शैक्षिक गुणस्तरको उचित विकार हुन नसकिरहेको स्वीकार गर्दै इकाई प्रमुख गौतमले भन्नुभयो, ‘शिक्षामा बजेट कम छ । भएको बजेट तलब भत्तामा धेरै जान्छ । अन्य भौतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विकासमा विद्यालयहरुले काम गर्न नपाउनु दुखद हो ।’
कार्यक्रममा बोल्दै ग्रिनसीटिका अध्यक्ष विश्वकान्त दाहालले सामुदायिक विद्यालयको सुधार र विकासमा समाजका सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । ‘विपन्न बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ । आधारभूत शिक्षाको पहुँचमा बालबालिकालाई ल्याउने र समाजमा बिक्ने सीप सिकाउने सवालमा सामुदायिक विद्यालयहरुले अब काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘राज्यपक्षसँगै समाजको अधिकांश वर्गले सामुदायिक विद्यालयको सुधार र विकासमा काम गर्न नसकिरहेको अवस्था छ । यसको अन्त्य गर्नैपर्छ ।’ बिहान बेलुकाको छाक टार्न समस्यामा हुने परिवारका बालबालिकाले बिस वर्ष पछिको समाजसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन नसके समाजको शीर झुक्ने धारणा व्यक्त गर्दै बालबालिकालाई नियमित विद्यालय आउने वातावरण बनाउन सबै पक्ष सकृय हुनुपर्ने उहाँको धारणा थियो ।’
कार्यक्रममा ग्रिनसीटिका चार्टर प्रेसिडेन्ट (संस्थापक अध्यक्ष) देवकिशन मुन्दराले बालबालिकालाई नियमित विद्यालय आउने वातावरण बनाउन आफू र आफनो क्लबले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । न्यानो कपडा वितरण कार्यक्रममा मुन्दराको नेतृत्वमा रहेको बाबा भेजिटेबल्सले २ सय १६ थान स्विटर तथा टोपीको प्रायोजन गरेको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वनाथ न्यौपाने, लायन्स ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नरहरु भीम घिमिरे र इन्द्र खत्री राजन लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको विकास र सुधारमा सबै पक्षबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।