डियर छिमेकीको छोरी,
खिर जत्तिकै मीठो सम्झना। तिम्रो घरमा लगाएको सत्यनारायण पुजाको प्रसाद घरबेटी मार्फत भर्खरै प्राप्त भयो । सेलरोटी मीठो लाग्यो। सासू आमाको हातै मीठो। खिरमा काजु किस्मीस अलि कम रहेछ , तर तिम्रो घरको भनेसी प्रत्येक सिता काजु किस्मिस भइदियो। केराउ-आलुको अचारमा नुन चै साह्रै चर्को । मलाई प्रेसर छ तर सवाल तिम्रो जो थियो। हु केयर्स नुन ? पानी हालेर खाईदिए। यस्तै पुजाआजा लगाउन भगवानले सधै जुराईरहुन। यदि २/४ महिना सम्म डेरा सरिएनछ भने होप तिम्रो हजुरबाको श्राद्धको पितृप्रसाद खाने सौभाग्य जुर्ला। आशा छ उतिबेला अचारमा नुन अलि कम हाल्नेछेउ ।
घाम आँगनसम्म आईपुग्छ। अनि तिमी बार्दलीमा निस्किन्छौ। म हस्याङफस्याङ गर्दै झ्यालको पर्दा तानेर रमित हेर्छु । मन त छ नि “आज के विधि जाडो है” भन्दै तिमीसँग नजानीदो पाराले कुरा गर्ने के गर्नु ? मेरा घरबेटीले बार्दली बनाएनन्।अलिकति तिमीलाई कप्छु..अलिकति घामलाई ताप्छु। म यतिकै न्यानो महसुस गर्छु।भर्खरै तिमीले झ्यालतिर आफ्ना नजर लखेटी पठायौ। मैले पर्दा तानी दिएँ।
तिमीलाइ टपरी गास्न आउँदैन , बाती कात्न आउँदैन भन्ने कुरा म अस्तिको सोह्र श्राद्धदेखि नै जानकार छु। भिण्डीमा झोल हालेदेखि रायोको सागलाई सिठ्ठी लगाएको हर्कत बारे म रत्तिभर पनि अनविज्ञ छैन। ” यस्ता रंग न ढंगकालाई कुन चै गधाले लैजाला ” भनेर प्रत्येक पल्ट आमै चहिंले भन्दा जुन गहिराईमा तिम्रो चित्त दुख्थ्यो, उहि गहिराईमा मेरो मुटु दुख्थ्यो। तिमीलाइ हेर्ने बहानामा कति खेप दिउरेबाट दुध उम्ली गयो, कति खेप तरकारी डढ्यो, कति खेप चियापत्तिको साटो गुन्द्रुक मिसाईयो, कति छाक काचो भात चपाईयो सायद त्यसको कुनै लेखाजोखा छैन। लेखाजोखा भए नि ती सब तिम्रा अघि एकदम फिक्का फिक्का। ज्यानको बाजी थापेर दिवालमाथि उभिएर घाटी तन्काई तन्काई तिमीलाई बार्दलीमा हेर्न पाउँदाको खुसी अगाडी डढेको तरकारीको के कुरा । तिमी मर्निङ कलेज जान थालेदेखि एकाबिहानै ९ बजे उठ्ने मलाई ५ बजे नै मर्निङ वाक जानु पर्ने भो। तिमी भेज भन्ने कुरा थाह पाएदेखि प्रत्येक तोरी बारी प्रिय लाग्न थालेका छन्। ग्रीन कलर फेबरेट भएको छ। कुखुराको भुटन, सुगुरको गर्धन , खसीको मटन प्रति तीब्र खेद छ। प्रत्येक दिन मर्निङ वाक बाट फिर्दा चङ्सुर र रायोको साग नबिराई ल्याउछु। घरबेटी आन्टी दैलोनेर उभिएर भन्नु हुन्छ – ” भोली देखि अंकललनई नि सँगै लग है , पेट लागेर । ” म फिस्स हासि मात्र दिन्छु – ” अङ्कल पनि पुलिसमा भिड्ने हो ? ”
तिमी थियौ अनि मात्र म थिएँ। अनि त भगेराको गुड जत्रै फुर्लुङ्गे कोठालाई नुन भन्दा चर्को भाडा तिर्नु पर्दा नि मलाइ फिक्रि थिएन। तिम्रा बारीमा फलेका लौका घिरौला , बन्दाकोभी, काउली छिमेकी आन्टी उर्फ तिम्रो माता जीले मलाई दिन पठाउदा म टमाटर झै लाल लाल भै जान्थें। तिमी दिवाल बारी म दिवाल पारी। दुई जोर नजर चार भएर जुध्दा म तत्काल तातो कराईमा परेको रायो साग जस्तै लत्याकलुतुक हुन्थे। तिमी लजावती जस्तै लजाई दिन्थ्यौ अनि एक चिम्टी मुस्कान सोहोरेर भन्थ्यौ – ” मामुले भन्सेको झोला चै झट्टै फर्काई दिनुस् रे।” हाय रब्बा ! माया अम्लिएर आउथ्यो अनि छातीभरि पोखिन्थ्यो। मन मृगका पाठा जस्तै फत्राकफुत्रुक नाच्न थालथ्यो। म चहान्थे तिम्रो बारीमा लौका , बन्दा र टमाटर कहिले फल्न नछोडुन्।
समय राम्रै सँग चल्दै थियो। तिमीलाई मन निचोरेर केहि टुटे फुटेका सपनाहरू , मनभित्र गुन्द्रुक/ सिङ्की जस्तै गुम्सिएका गन्थन-मन्थनहरू , केही केटाकेटी टाईपका मेरा ल्याङ् ल्याङहरू, एक/ दुई खिल्ली बक्वासहरू नमिलेका बाङ्गाटिङ्गा अक्षरमा प्रेमपत्र लेखि पठाउन खोज्दै थिएँ। एक्कासी तिम्रो बिहे भन्ने खबर सुन्नमा आयो। मुटु बुर्कुसी मारेर घाटी सम्म आईपुग्यो। ओठ/तालु सुक्यो। म मधुमालतीको कथा सम्झिन्छु। गौरीलाइ बिदाईको हात हल्लाउनु पर्दाको त्यो शंकर आफुलाई पाउछु। कसैलाई गुमाउदैछु भन्ने थाह हुदाँको अवस्था कति दर्दनाक हुन्छ है। बेचैनीले एकसाथ गाजेर ल्याउछ। दुई थोपा आसु खोइ कुन्नी बगि दिन्छन्।
आज भोली मर्निङ वाक जान उती जागर चल्दैन। कानमा ईयरफोन कोच्छु। शिव तान्डब बजाउछु। उर्जा भरिएर आउछ। सडकको छाती माथि गोल्डस्टार जुत्ता बजाउदै कुद्छु। टोलभरिका कुकुर पछि पछि जगिङ गर्दै आईपुग्छन्। आफुलाई बडो एक्लो फिल गर्छु। अनि बाटाका मिनिरल वाटरमाथि लात बजार्छु। रूईदिम रूईदिम लाग्छ। जब जब फेरि त्यो आकृति एका बिहानै बार्दलीमा घाम ताप्न अब कहिले आदैन भन्ने यथार्थ सम्झिन्छु। जब जब तिम्रो भान्साबाट दुध उम्लिएर गएको अनि आमैको ननसेन्स गाली, तरकारी डढेको गन्ध आउदैन भन्ने सम्झन्छु। कसम जुनमाया मलाई रिंगटा छुटेर आउछ। जिन्दगीको बल्ब एकसाथ झ्यापझुप निभे जस्तै लाग्छ। निबस्त्र चिसो आईसमा चिप्लेटी खेले जस्तो हुन्छ। अनायसै म ईमोसनल भईजान्छु। साच्चै तिमी नहुदाको त्यो समय जुनतारा हराएको आकाश जस्तै कति शून्य शून्य हुँदो हो हगि ?
आफ्नो चल्लालाई चिलले टपक्क टिपेर लगेको दृश्य हेरेको माउ कुखुराझै म लाचार छु। मलाइ औडाहा लागेर आउछ। उधारोमा एक फाईल भोड्का ल्याउछु। ग्लासमा भर्छु । पिउन खोज्दा तिम्रा निला आँखा मै तिर हेर्दै तैरिरहेका हुनेछन्।
फेसबुक खोल्छु। तिम्रो प्रोफाईल पिक्चर जुम गरेर हेर्छु। आँखा भरि आटाउछु। छातीभरि टसाउछु। लाग्छ जिन्दगीमा कोही मान्छे कसैका बगैचाका गुलाबहरू हुन् , जस्लाई चाहेर पनि टिपेर टाउकोमा सिउरिन सकिदैन्। बस बाटो छेउबाट हेरेर आँखाको न्यानो मात्रै। म चाहन्छु पुतली बनिदिउ, भमरा भइदिउ , अनि चुमु दुई पत्र फक्रिएको आफ्नो प्रिय गुलाफ। ए जिन्दगी मलाई भमरा बनाई दे!!
मङ्सिर अन्तिम ! तिमी सिंगारिने छौ , म बिगारिने छु। तिमी बेहुली बनिने छौ , म बहुला बनिने छु। तिम्रो आगनमा जन्तीको लर्को लाग्दा मेरो मानसपटलमा तिम्री सँग रहदाका तमाम यादहरूको मलामी लाग्ने छ। तिम्रो आँगनमा बिहेको बाजा बजिरदा म मेरो रित्तो सिलिन्डर, एक थान कुकर , कराई , थाल बटुका बजाउदै पढ्न भनि थन्काएर राखिएका किताब च्यापेर तिम्रो शहर छोड्ने तरखरमा हुने छु। थाह छैन अब म कुन शहर जाने छु। थाह छैन मेरो घरबेटी को हुने छ। थाह छैन म अब बिरालाले बच्चा सारे जसरी कति ठाउँ कोठा सर्ने छु । बस यति चैं चाह छ कि अबको मेरा छिमेकीका तिमी जस्तै छोरी नहुन ताकि मुटुभित्र लेखिएका तिमी सँगको सम्झनाको तरेली फेरि कुनै छिमेकीको छोरीले ईरेज गर्न नसकुन्।
अँ साच्ची ! एउटा सपना छ तिम्रो सत्यनारायण पुजाको प्रसाद होस् या बारीका तरकारीको ऋण चुक्ता गर्न। जिन्दगीको कुनै घुम्ति छेउ भेट्दा तिम्रा केटा/केटीलई स्निकर र डेरी मिल्क दिन म पर्खि बस्ने छु। अनि कानमा ईयरफोन कोचि मर्निङ वाकको बहनामा हिडिरहने छु प्रत्येक गल्ली गल्ली बेसुरा भई नारायण गोपाल सुन्दै – ” यो सम्झिने मन छ… म बिर्सु कसरी … तिमी नै भनिदेउ … ए जाने निठुरी!!!
उहि तिम्रो प्रेममा सहिद
-भड्केको आत्मा
(लेख : समुन्द्र कार्की , विराटनगर)