विराटनगर – विकल्प एन्ड अल्टरनेटिभ र मकालु टेलिभिजनको सहकार्यमा लाइसेन्समा रहेको समस्या र त्यसको समाधानको निमित्त सरोकारवाला तथा सम्बन्धित निकायसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । मकालु टेलिभिजनको हलमा आयोजित कार्यक्रमको वक्ताको रुपमा यातायात व्यवस्था कार्यालयको निर्देशक भीम गौतम, भौतिक तथा पूर्वधार विकास मन्त्रालयका उपसचिव राम प्रसाद फुयाल र विकल्प अन्ड अल्टरनीटिभका अनुसन्धानकर्ता सर्वज्ञ राज पाण्डे रहेका थिए भने कार्यक्रमको सहजीकरण बि फे म का निर्देशक संदेश दास श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा अहिले लाईसेन्समा देखिएका विभिन्न कार्यकारिक तथा नीतिगत समस्या बारे प्रश्नोत्तर तथा छलफल भएको थियो ।
कार्यक्रममा संघियता लागु भए पनि लाइसेन्स जस्तो आधारभूत कुरा सहजै पाउन नसकेको अवस्थाबारे प्रश्न उठ्दा पूर्वधार विकास मन्त्रालयका उपसचिव राम प्रसाद फुयाँलले संघियता लागु भए सँगै आफूहरुले जिम्मेवारी पाएको तर अधिकार नपाएको अवस्था रहेको बताउनुभयो । बजेट र पूर्वाधारको पनि कमि रहेकोले उचित हिसाबले सेवा प्रवाह गर्न नसकेको उहाले स्वीकार्नुभयो । केन्द्र सरकार संग समन्वय गर्दै बिस्तारै सेवाहरु प्रदेशको अन्य ठाउँहरूमा पनि विस्तार हुने अवस्था बन्दै गएको र अब यो अवस्थामा सुधार आउनेमा आसावादी रहन अपिल पनि उहाले गर्नुभयो ।
त्यसैगरि क्षेत्रिय निर्देशक भिम गौतमले कोभिड १९ र लकडाउनले गर्दा पनि लाइसेन्स बनाउने काम रोकिएकाले हाल धेरै चाप व्यहोर्नु परेको बताउनुभयो । यो अवस्थालाई विस्तारै सहज बनाउन अब केहि नीतिगत सुधार पनि कार्यन्वयन हुदै गरेको उहाले बताउनुभयो । कार्यक्रम मार्फत उहाले अब एक महिना भित्रमा ट्रायल पास गर्न मात्र ७०% अंक ल्याए पुग्ने लाइसेन्स पाइने व्यवस्था कार्यान्वयन गर्ने प्रदेश १ पहिलो प्रदेश बनेको कुराको उदघोष पनि गर्नु भयो । साथै इलाम र उदयपुरमा विस्तार भएको लाइसेन्स लिने सेवा छिट्टै अन्य जिल्लाबाट पनि शुरु गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।
त्यसै गरि विकल्पका सर्वज्ञ राज पाण्डेले लाइसेन्स सर्वसाधारणको जीविकोपार्जनसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले यसलाइ सहज नबनाउदा सरकारी निकायले जन विश्वास गुमाई राखेको कुरा उदृत गर्नुभयो। लाइसेन्सको परीक्षा लिनको लागि २-३ वर्ष कुर्नु पर्ने अवस्थाले अर्थतन्त्रमा ह्रास आएको र नागरिकहरु आजित भएको उहाले प्रष्ट पार्नुभयो। अब बजेटको अभावमा सरकारले निजी क्षेत्रलाइ पनि व्यवस्थापनमा संलग्न गराएर उचित सेवा प्रदान गर्न ठोस कदम लिन जरुरि रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा उपस्थिति रहेका दर्शकले पनि प्रतिक्रिया आउने क्रममा लाइसेन्स सम्बन्धी समस्याहरु बताइनुका साथै वक्ताहरुसंगा विभिन्न प्रश्नहरू राखेका थिए । दर्शकले यातायात व्यवस्था कार्यालय दलाल र भ्रस्टचारको अखडा रहेको बताएका थिए । लाइसेन्सको लागि पैसा खुवादा काम छिटो हुने ,नभए काम नै अगाडि नबढ्ने गुनासो गरिरहदा उपस्थित दर्शकले यातायात व्यवस्थाको कार्यशैलीप्रति आक्रोस पोख्नुका साथै लाइसेन्सको नाउमा जनतालाई दुख नदिन अनुरोध पनि गरेका थिए ।