सविन घिमिरे / विराटनगर- मोरङको जहदा गाउँपालिकाका शिक्षकहरुले आफूहरूमाथि श्रम शोषण भएको भन्दै आन्दोलन गरिरहेका छन्। सरकारले वृद्धि गरेको तलब जहदा गाउँपालिकाले उपलब्ध नगराएको भन्दै सो गाउँपालिकामा रहेका विद्यालयहरूमा कार्यरत बाल विकास सहयोगी तथा कर्मचारीहरु पुष १४ गतेदेखि आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घ स्थानीय कार्य समिति जहदाले आयोजना गरेको आन्दोलन तथा धर्ना कार्यक्रम अन्तर्गत यही १४ र १५ गते शिक्षकहरुले कालो पट्टी बाधी शिक्षण गरेका थिए। त्यस्तै १६ गते शिक्षक महासंघको नेतृत्वमा घटक संस्था सहितको उपस्थितिमा जहदा गाउँपालिका कार्यालय अगाडि धर्ना दिएका थिए। पुष १८ गते आईतबार जहदा गाउँपालिकाको कामकाज ठप्प पारेका थिए।
माग सम्बोधन नभए १९,२० र २१ गते जहदा गाउँपालिका को सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन बन्द गरेर गाउँपालिका कार्यालयमा कडा आन्दोलनमा उत्रन बाध्य हुने नेपाल विद्यालय कर्मचारी परिषद जहदाका अध्यक्ष मुकेश कुमार यादवले बताए।
गाउँपालिकाले विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरूलाई चालू आर्थिक वर्षबाट बढाएको पैसा उपलब्ध नगराएको कारण शिक्षक तथा कर्मचारीमाथि सरकारले श्रम शोषण गरिरहेको कारण त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको नेपाल शिक्षक महासंघ जाहदाका अध्यक्ष चैतुलाल मण्डलले बताएका छन्। गाउँपालिकालाई ज्ञापनपत्र बुझाइसके पछि पनि बारम्बार ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको मण्डलले बताए ।

जहादा गाउँपालिका प्रमुख कैलाश मण्डलले गाउँपालिकाको खर्च अभावका कारण केन्द्रीय सरकारले आदेश गरे बमोजिमको तलब दिन नसकिएको बताएका छन्। मण्डलका अनुसार यही वर्षको श्रावण देखि लागू हुने गरी गाउँपालिकाका विद्यालय कर्मचारी र बालविकास सहयोगीहरुको तलवमा वृद्धि भएको र मासिक १५ हजार तलवको आधा रकम केन्द्रीय सरकार र आधा रकम स्थानीय तहले दिनु पर्ने उल्लेख गरिएको भए पनि जहादा गाउँपालिकाको आयस्रोत न्यून भएको कारण उक्त शीर्षकमा बजेट गाउँपालिकाले छुट्याउन नसकेको हो। केन्द्रीय सरकारले दिएको रकम एक रुपैया पनि नघटाई बरु त्यसमा एक हजार थपेर नै गाउँपालिकाले पहिला देखि तलब दिँदै आएपनि अहिलेको अवस्थामा सरकारले तोकेको हालको रकम जहदा गाउँपालिकाले धान्न नसक्ने मण्डले बताए । पीडित शिक्षक तथा कर्मचारीहरुको माग एकदमै जायज भएपनि गाउँपालिकाले पूर्ण रुपमा माग पूरा गर्न नसक्ने उनको जिकिर थियो।
त्यस्तै जहादाका गाउँपालिकामा प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जहदा गाउँपालिकामा रहेका पीडित १०८ शिक्षक तथा कर्मचारीको लागि सरकारले तोकेको अनुसारको रकम वार्षिक सवा एक करोडको हाराहारीमा खर्च हुने तर गाउँपालिका को वार्षिक आम्दानी लगभग ४० लाख मात्र रहेको अवस्थाले गर्दा यो अवस्था सृजना भएको बताएका छन्। उहाँहरुको माग प्रति आफू सकारात्मक रहेको कारण यस कुरालाई समाधान गर्नको लागि पालिका स्तरमा पहल गर्ने घिमिरेले बताएका छन् ।
