सविन घिमिरे / विराटनगर – सरकारले बढाए अनुसारको तलब नपाएको भन्दै पुष १४ देखि निरन्तर आन्दोलन गरिरहेका मोरङ जहदा गाउँपालिकाका इसिडि शिक्षक , सहयोगी तथा कर्मचारीहरुले आजदेखि गाउँपालिका भरिका विद्यालयको पठनपाठन ठप्प पारेका छन्। पुष १९ गते गाउँपालिका र पिडित शिक्षकहरुबीच भएको वार्तामा गाउँपालिकाले २१ गते पीडित शिक्षक तथा कर्मचारीको माग सम्वोधन गर्दै वैठक बसी निर्णय दिने जनाए बमोजिम २१ गते बसेको कार्यपालिकाको वैठकले सरकारले तय गरे अनुसारको तलब माघ महिनादेखि मात्र लागु गर्ने निर्णय गरेको थियो । तर सो निर्णयलाई पिडीत शिक्षक तथा कर्मचारीले सरकारले तोकेको तलव श्रावनबाटै पुरै पाउनुपर्ने माग राख्दै गरेका छन् । उनीहरु २२ गतेबाट गाउपालिकाभरिका सरकारी तथा संस्थागत विद्यालयको पठनपाठन ठप्प पारी गाउपालिकाको कार्यालय अगाडी धर्नामा उत्रिएका छन् । माग पुरा नभए झन् कडा रुपमा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासंघ जाहदाका अध्यक्ष चैतुलाल मण्डलले बताएका छन्।
यता गाउपालिकाले भने जहदा गाउँपालिकाको खर्च अभावका कारण केन्द्रीय सरकारले आदेश गरे बमोजिमको तलब दिन नसकिएको बताउदै आएको छ । आर्थिक वर्ष २०७८ ०७९ को बजेट भाषणमार्फत तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका थिए । पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै बालविकास सहयोगीको तलब बढाएर ८ हजार पुर्याइएको र बाल विकास केन्द्रका शिक्षकले न्यूनतम १५ हजार पुर्यायएको जानकारी दिएका थिए। बढेको नयाँ तलवमान अनुसार विद्यालयका कर्मचारीले न्युनतम ८ हजार,इसिडि शिक्षकले न्युनतम १५ हजार पाउनेछन। यसको कार्यनवयनको लागि केन्द्रिय सरकारबाट ८ हजार र स्थानीयतहबाट ७ हजार दिनुपर्ने अनिवार्य गरिएको छा । तर जहदाका शिक्षकहरुले केन्द्रिय सरकारले पठाएको रकम मात्र पाएका छन् ।
केन्द्रीय सरकारले दिएको रकम एक रुपैया पनि नघटाई बरु त्यसमा एक हजार थपेर नै गाउँपालिकाले पहिला देखि तलब दिँदै आएपनि अहिलेको अवस्थामा सरकारले तोकेको हालको रकम जहदा गाउँपालिकाले धान्न नसक्ने र पीडित शिक्षक तथा कर्मचारीहरुको माग एकदमै जायज भएपनि गाउँपालिकाले पूर्ण रुपमा माग पूरा गर्न नसक्ने कुरा जहदा गाउपालिकाका प्रमुख कैलाश मण्डलले बताउदै आएका छन्।