काठमाडौं- नोबेल मेडिकल कलेज तथा काठमाडौ मेडिकलका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् ।
शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमा कलेजमा अध्ययनरत विद्यार्थीले उनलाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीहरुले नमस्ते गरेजस्तो गरेर शर्मालाई कालोमोसो दलेका थिए।
पीडित विद्यार्थी तथा विद्यार्थी संगठनहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै सुनिल शर्माको विरोध गर्दै आइरहेका छन् ।
शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो भने शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा शर्माले फरक ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए ।