कैलाली – कैलालीको धनगढीस्थित रहेको ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको आरोप सहित सीसी क्यामेराको भिडियो सार्वजनिक भएको छ। लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको र खानतलासीको क्रममा एक प्रहरीले दुई वटा मोबाइल चोरी गरेको ग्लोबल मोबाइलका सञ्चालक सुवास रावलले अरोप लगाएका छन् । आरोप लगाउदै ग्लोबल मोबाइल ग्यालरीको फेसबुक पेजमा पनि उक्त भिडियो सार्वजनिक गरिएको छ । रावलले चोरीमा संलग्न प्रहरीलाई कार्बहीको माग गर्दै प्रहरी कार्यालयमा निवेदन दिएको बताए।
प्रहरीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका सोही ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो। धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको पनि बताइएको छ।