काठमाण्डौ – काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन गरेर बिक्री वितरण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा माघ ६ गते महानगरीय अपराध महाशाखाको बिशेष टोलीले काठमान्डौ वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा पक्राउ गरेको हो। उनीसँगै मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको छ।
महाशाखाका अनुसार श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको खुलेको छ। अनुसन्धानबाट नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको थाहा लागेको छ भने उक्त गुणस्तरहीन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ।
नतिजा प्याकेजिङ्गले गुणस्तरहिन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको पाइएको छ।
उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा एच एम एफ र एफ/जी को मात्रा नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको पाइएको छ ।
गुणस्तर मह बनाउने सो स्थानबाट प्रहरीले गुणस्तरहिन तयारी मह ६०० के.जी ,कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी , ग्लुकोज ५०० के.जी ,चिनी १०० के.जी. तौल मेसिन १ थान ,लेभल मेसिन १ थान, सिल मेसिन १ थान , पेट्राइज मेसिन १ थान, स्टोरेज मेसिन १ थान, स्पर्स हनीका लेभलहरु , पेट जार अ. १००० थान बरामद गरिएको थियो।
काठमाण्डौ उपत्यका लगायतका देशका विभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भइरहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई महानगरीय अपराध महाशाखाले हार्दिक अपिल पनि गरेको छ ।