विराटनगर – गृह मन्त्रालयले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई नियन्त्रणमा लिएर मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार पत्र पठाउँदै चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन निर्देशन दिएको हो।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरे बाहेकको शुल्क पनि विध्यार्थीहरुसंग माग गरेको नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई पक्राउ गर्न स्थानीय प्रशासनले प्रहरी परिचालन गर्ने जनाइएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले र गृहमन्त्री बालकृष्ण खाँणबिचको छलफलमा चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने शिक्षण संस्थालाई कारवाही अगाडी बढाउने सहमति भएको आधारमा बिहीबार गृहले स्थानीय प्रशासनलाई आवश्यक कागजात माग गरेर विद्यार्थी ठगी विरुद्धको मुद्धामा पक्राउ गरी कारवाही चलाउन पत्राचार गरेको थियो।
नोबेल मेडिकल कलेजले एम बि बि एस अध्ययन गर्ने १५ औ व्याचका विध्यार्थीहरुलाई विभिन्न शिर्षकमा अतिरिक्त शुल्क मागेको र सो नदिने विध्यर्थीहरुलाई पठनपाठन गर्न नदिएको भन्दै महिनौ दिन देखि पिडित विद्यार्थी र विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलन तथा धर्ना गरिरहेका छन् ।