पोखरा – स्याङ्गजाको आँधिखोला गाउँपालिका २, काफलटारीमा अवस्थित संस्कृत गुरुकुलमा दाह्री ग्याङ पोखराले खाद्यान्न सामाग्री वितरण गरेको छ। दारी ग्याङ्ग पोखराले आयोजना गरेको उक्त कार्यक्रमको लागि पोखराका युवाहरु शनिबार चामल, दाल, तेल, चिनी, चिउरा लगायतका विविध खाद्यान्न सामग्री लिएर सो संस्कृत गुरुकुलमा पुगेका हुन् ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रामचन्द्र तिमिल्सिनाले स्याङ्जाको उत्तरी भेगमा रहेको उक्त आश्रममा पोखरादेखि आएर सहयोग गर्दा सबैलाई हार्दिक स्वागत सहित खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा दाह्री ग्याङ पोखराका संयोजक अभिमन्यु पाण्डेले आफूहरुसँग प्रशस्त पैसा भएर भन्दा पनि सबै साथीभाइहरुले खाजा खर्च कटाएर सहयोग गरेको बताए । दाह्री ग्याङ एउटा युवा सोच र अभियान भएको कारण आफूहरुको सहयोग एउटा सांकेतिक सन्देश रेहको उनले बताए ।
। त्यस्तै, दाह्री ग्याङ पोखराकै संस्थापक संयोजक शेखर गौतमले आफ्नो धर्म संस्कृति र संस्कृत शिक्षा प्रवद्र्धन गर्न र बटुकहरुको प्रोत्साहनको लागि आफूहरुले केही सहयोग गरे पनि दिगो रुपमा संघ, प्रदेश र स्थानीय सरकारकै सहयोग अपरिहार्य रहेको बताए ।
सामाजिक संजालमा सक्रिय रहेको पुरुष युवाहरुको समूह दारी ग्याङ्गले देश तथा विदेशमा समेत विभिन्न सामाजिक कार्य गर्दै आएको छ।