कैलाली – शिर्षकमा उधृत गरिएको वाक्याङ्श कैलालीको पचमुडिया सब–डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितले आफ्नो फेसबुकमा पोस्ट गरेका हुन् । उनलाई विप्लप समुहका कार्यकर्ता जनाउने केहि व्यक्तिहरुले निलोमोसो दले पछि आफ्नो फेसबुक वालमा मोसो दलेको फोटो राख्दै लेखेका छन् , ” ने.क.पा. (विप्लव) समूह कथित केहि थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहदाकोअविस्मरणीय रहने छ । ” उनले आफुले गल्ति गरेको भए कानुनले सजाय दिन सक्छ भन्ने संकेत गर्दै लेखेका छन् , ‘ देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जन अदालतको कठघरामा उभ्भिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।
उनले निलोमोसो दल्ने समुहलाई समाज रुपान्तरण गर्नको लागि वहस गर्न चुनौती दिदै लेखेका छन् , ” चरित्रमा दाग नलागुन्जेल सम्म अन्य अनेकौं रङ्गहरु पोतेर केहि फरक पर्नेवाला छैन, मारिएन छु भने। समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।”
केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेको खबर विभिन्न संचार माध्यममा आएको थियो । सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए। उनीहरुले एउटै वनबाट तीन लाखसम्म असुल गरिएको जनाइएको छ । चन्दाबारे उक्त समिति र सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई मोसो दलिएको बताइएको छ। विप्लप समूहका कार्यकर्ताहरुको यस कार्यको चर्को विरोध भइरहेको छ।