काठमाडौं -वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ। लामा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुनुहुन्छ । लोक गायक, कलाकार, फिल्म निर्माता, निर्देशक, संगीतकार, संकलक, लेखकको परिचय बनाउनु भएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गर्नुभएको लामा पछिल्लो समय पनि चरित्र अभिनयमा सक्रिय हुनुहुन्थ्यो।
उहाँ लोकसंगीतको अध्ययन तथा अनुसन्धानकर्ता पनि हुनुहुन्छ। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उहाले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गर्नु भएको थियो। उहाले ललित कला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक र भारतको इलाहाबादबाट स्नातकोत्तर गर्नु भएको थियो। उहा रोयल नेपाल एकेडेमीमा साथै २०४० देखि २०४५ सम्म रेडियो नेपालमा लोक विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले स्वर दिनुभएको कलकत्ते काइँयो केश मेरो बांगो गीत बहुचर्चित छ। त्यस्तै उहाको चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।