लेटाङ- एक महिला प्रहरीको ज्यान जानेगरी आइतबार झडप भएपछी तनावपूर्ण स्थिति सृजना भएको कारण मोरङको लेटाङमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेका हुन् । दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जानकारी दिए ।
लेटाङ ५ को शिक्षा विकास मावि मा कक्षा ६ मा पढ्ने १२ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती प्रयास गरेको आरोपमा भएको प्रदर्शनमा स्थानिय र प्रहरीबीच झडप हुदा आइतबार एक महिला प्रहरीको मृत्यु भएको थियो भने करिब २८ जना घाइते भएका थिए । घाइतेहरुको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनालाई पक्राउ गर्नुका साथै प्रहरीको खानतलासी र अनुसन्धान जारी रहेको छ।