मुसिकोट – अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमकाे मुसिकोट नगरपालिकाको वडा नम्वर १ मुलखोलामा ‘मुसिकोट एजि चर्च’ भवनको शिलान्यास सोमबार गरेका छन् ।
नेपाल ख्रिटियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजि चर्चका संस्थापक मुकुन्द शर्माको अनुसार कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा भवन निर्माण सुरु गरिएको हो । प्रदेश सरकारले ३० लाख बजेटमा उक्त भवन निर्माणका लागि बिनियोजन गरेको शर्माले जानकारी दिए।
३ करोड लागत अनुमान रहेको चर्च निर्माणको बाँकि बजेटको लागि अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिएका छन् । एजि चर्चका सस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि पर्यटन तथा संस्कृति मन्त्रालयमा आफुले पनि अनुरोध गरिरहेको बताए ।
मुसिकोट नगरपालिका मार्फत कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा भने उपभोक्ता समितिलाई दिईएको छ । निर्माण समितिका अध्यक्ष भिमबहादुर बोहराले मंगलबार देखि भवन निर्माणको काम तिब्र पारिएको बताए । यस पटकको बजेटबाट भवनको लागि टाईबिम र पिपरहरु बैशाख मसान्त भित्र निर्माण हुने र थप बजेट व्यवस्थापन भएमा अन्य काम हुने बतैएको छ ।