विराटनगर – काठमाडौँ , पोखरा तथा बुटवल भैरहवामा सेवा प्रवाह गर्दै आएको अनलाइन लजिष्टिक प्लेटफर्म उपाय सिटी कार्गो प्रदेश १ मा पनि विस्तार भएको छ । विराटनगरस्थित मनास्लु होटेलमा एक कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्व तथा पत्रकारहरुको उपस्थितिमा उपायलाई लन्च गरिएको थियो।
उपाय सिटी कार्गो विराटनगरका लागि दिवस दाहालले फ्रेञ्चाइच लिएका हुन् । विराटनगरसहित इटहरी, धरान, इनरुवा र उर्वाबारीसम्म सामानहरु पु¥याउने सेवा उपायले प्रदान गर्ने उहाले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै उपाय सिटि कार्गोका म्यानेजिङ्ग डाइरेक्टर सुमन रायमाझीले कुनै पनि ग्राहकको सामानहरु एक ठाउबाट अर्को ठाउ स्थानान्तरण गर्नको लागि सजिलो , भरपर्दो , सुरक्षित र छिटो छरितो तवरले सेवा प्रदान गर्नको लागि उपाय एक विकल्प रहेको बताउनुभयो । उहाले उपाय एप्लिकेशनको माध्यमबाट ग्राहकले आफ्नो सामान ढुवानी गर्नको लागि भाडामा ठगिने, भनेको समयमा सवारी अभाव हुने तथा सामान असुरक्षित हुनेजस्ता डरबाट मुक्त हुने बताउनुभयो । उहाको अनुसार उपाय एप्लिकेशनको माध्यमबाट ग्राहकले आफ्नो सामान कहा पुगिरहेको छ भनेर सामान नपुगुञ्जेलसम्म हेर्न सक्नेछन ।

उपाय सिटी कार्गोको शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले सेवा संचालन गरेकोमा शुभकामना दिनुभएको थियो। उपाय सेवाले धेरै क्षेत्रका व्यापारी तथा उद्योगीललाई पनि जोड्न सक्ने तथा यो सेवा पारदर्शी रहेकोले भरपर्दो हुन सक्ने विचार व्यक्त गर्नुभएको थियो । डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन तथा ग्राहकको सुविधालाई झनै प्रभावकारी बनाउन सक्ने प्लाटफर्मको रुपमा उपाय रहन सक्ने उहाले बताउनुभएको थियो ।

कार्यक्रममा विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारी , पर्यटक व्यवसायी युनिष राज श्रेष्ठ लगायत विभिन्न्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो । उहाहरुले उपायको शुभारम्भ भएको उपलक्षमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
उपाय सिटि कार्गोको बारेमा जानकारी दिदै उपाय सिटि कार्गोका आउटस्टेसन संयोजक सुवोध थापाले उपायको मोवायल एप्लिकेशनमा ग्राहकवर्ग , बिजनेश मेन र सवारीका चालकलाई आवद्ध हुने सुविधा रहेको बताउनुभयो । उहाको अनुसार मोवायलमा एप डाउनलोडका लागि प्लेस्टोरमा गएर उपाय सिटी कार्गो डाउनलोड गर्ने, नयाँ दर्ता हुने, आफ्नो विवरण राखेर साइन अप गर्न सकिने छ । एपमा आवद्ध भएका चालकको फोनमा सामान ट्रान्सपोर्ट गर्नुपर्ने विवरण कम्पनीमा आएसँगै अटोमेटिक म्यासेज जानेछ । चालकले आफूले ट्रान्सपोर्ट गर्ने ईच्छा एपबाटै व्यक्त गरेपछि सामान बोकेर जान पाउनेछन् ।