विराटनगर – स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको आज दोश्रो दिन विराटनगरबाट विभिन्न युवाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेद्वारी दिनेमा विराटनगर ११ मा निर्मल तामाङले वडा नम्बर ११ को वार्ड अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । विगत ३ दशक देखि सुचना प्रविधि तथा विकास विषयका विज्ञका रुपमा सक्रिय तामाङले विपद व्यवस्थापन, पारदर्शीता र सुशासनका विषयमा विभिन्न कार्यहरु गर्दै आएका छन् ।
विराटनगर –५ वडाध्यक्षमा २७ वर्षीय शुभम निरौला सहित वडा सदस्यमा कृष्ण दाहालले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दिएका हुन् । समाजशास्त्रको अध्ययन सम्पन्न गरिसकेका वडाध्यक्ष पदका उम्मेदवार निरौलाले अबको राजनिति नयाँ पुस्तालाई हस्तान्तरण गर्र्नुपर्ने आवश्यकतालाई महशुस गर्दै उनले वडाध्यक्षको उम्मेदवारी दिएको बताएका छन् ।
त्यस्तै विराटनगर महानगरपालिका वडा नं. २ को अध्यक्षमा भरत ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी स्थानीय उद्योगी हुन् ।उनले पनि सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । यसअघि जसपाको वडा कमिटी सदस्यको जिम्मेवारीमा रहेका ठाकुरले विराटनगरमा पार्टीले मुख पद छाडेको विषयमा खटपट भएपछी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।