विराटनगर – स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आम मतदाताहरुलाई पैसा बाँडेको फेला परेको समाचार स्थानीय सञ्चार माध्यम आवर विराटनगरमा आएको छ।
समाचार अनुसार विराटनगर-५ स्थित कारखाना टोलका मतदाताहरुलाई कांग्रेसबाट स्वयम् वडाध्यक्ष पदका उम्मेदवार रहेका सन्तोष न्यौपानेले पैसा बाँडेको स्थानीयले फेला पारेका हुन् । साँझ करिब साढे ५ बजेको समयमा उक्त घटना भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार नेपाली कांग्रेसका नेता प्रविण जोशीको प्रदेश ३-०१-०२२ च ४३८० नम्बरको कारमा नमूना मतपत्र सहित ३ जना पैसा बाँडदै गरेको अवस्थामा फेला परेका हुन् । नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘गाडीमा स्वयम् प्रविण जोशी, सन्तोष न्यौपाने र एकजना महिला थिइन् । हामीले सोधपुछ गर्दा औषधि बाँडन आएको हो बताए । पछि गाडी छोडेर सबैजना फरार भए ।’
यता, सन्तोष न्यौपानेले भने देखेजस्तो केही नभएको बताएका छन् । उनले मतदाता शिक्षा दिने क्रममा उक्त घटना भएको जानकारी गराएका छन् । नेपाली कांग्रेसका नगर सभापति दीपक चापागाईंले पनि यसको पुष्टि गरेका छन् ।
स्थानीयको विरोध पश्चात् मोरङ प्रहरीको टोलीले उक्त गाडी नियन्त्रणमा लिएको थियो । तर, हाल प्रहरीले भने नियन्त्रणमा लिइएको सो गाडी छाडिदिएको छ ।
समाचार स्रोत : आवर विराटनगर