काठमाडौंको अन्तिम मतपरिणाम आउनुअघि नै काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको जित पक्का भएपछि बालेनले आफ्ना समर्थकहरुलाई विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन । ऊनले खुसीयाली प्रकट गर्ने नै हो भने ‘धन्यवाद र्याली’ गर्न अनुरोध गरेका छन। शाहले वक्तव्यमा विभिन्न ठाउँबाट विजयी र्यालीका लागि काठमाडौं आउने कुराहरु सुनेको भन्दै काठमाडौं आउने दुःख नगर्न समर्थकलाई आग्रह गरेका छन्।
बालेनले जीत-हारलाई मतगणना सकिएसँगै सकाइदिन आग्रह गरेका छन्। ‘घोषणा पत्रमा भएका कुरा लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’, उनले भनेका छन्, ‘तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ।’
वक्तव्यको पूर्णपाठ
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ। यहाँ विश्वासको कुरा छ। विश्वासमा जीत वा हार हुदैन।
जीत–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ। घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरुलाई छनौट गर्नु भएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नु होला। त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ। ‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।
अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ। हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ।
हामीलाई साथ र सुझाव जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँगै जोडिरहेका हुन्छौँ। तपाईंहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन्। अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौँ।