विराटनगर – विराटनगर मुख्य कार्यालय रहेको रिपब्लिक हेराल्ड मेडिया प्रा लि अन्तर्गतको कोसी अनलाइनले कर्मचारीहरुको तलब नदिएको भन्दै सम्पादकसहित पिडित पत्रकारहरुले विरोध गरेका छन्।
सम्पादक पदबाट २ महिना अगाडी राजीनामा दिएका सुविदा गुरागाईंले आफ्नो फेसबुक मार्फत कोसी अनलाइन छोडेका प्रधानसम्पादक धर्मेन्द्र झासहितका पत्रकारहरूलाई महिनौंदेखि तलब नदिएको बताएका छन् । उनका अनुसार कोसी अनलाइनका सञ्चालक तथा मोरङ जिल्ला सहकारी सङ्घका सदस्य प्रभात खड्काले झालाई असार १ गते, गुरागाईंलाई असार ५ गते र माधव काफ्लेलाई असार ५ गते र गोविन्द कुँवरलाई असार १० गतेको चेक दिएका थिए। तर बैंकमा जाँदा मौज्दात नभएपछि पत्रकारहरूले सामाजिक संजालमा विरोध गरेका थिए ।
यो भन्दा अगाडी पनि खड्काले अन्य कर्मचारीहरुलाई चेक दिएको र सो मौज्दात नभएको पाइएको छ । पिडित कर्मचारीहरु संघर्षमा उत्रिने र कानुनी प्रक्रियामा जाने बताएका छन् । सुविदा गुरागाईंले लेखेका स्ट्याटसको प्रतिक्रिया दिदैं प्रभात खड्काले सुरु हुन साथ् लगातर कोरोना र तरलता संकट भोगिरहेका कोशी अन्लाइनले यो बिकराल कठिनाईमा पारिश्रमिक र सेवा सुबिधा तोकिएको समयमा उपलब्ध गराउन प्रयास गर्दा गर्दै पनि समय सिमा केही तल माथि भएको मात्र बताएका छन । उनले सबैको हरहिसाव भुक्तान गरिने बताएका छन् । तर कोरोनाको संकट आउनुभन्दा अगाडि पनि कर्मचारीहरुले तलब नपाइरहेको पाइएको छ । जसको कारण धेरै कर्मचारीहरुले जागिर छाड्नु परेको थियो।
एक हप्ताभित्र कर्मचारीका चेकहरू साटिएनन् भने आफु पत्रकार महासङ्घ मोरङ परिसरभित्र सत्याग्रहमा बस्ने सुविदा गुरागाईंले जनाएका छन् ।
कोशी अनलाइन छाडीसक्दा पनि तलब नपाएका माधव काफ्लेले आफ्नो परिवारको सदस्य विरामी हुँदा पटक-पटक अस्पतालमा पैसा पुर्याउनै आउँछु भनेर प्रभात खड्काले आफुलाई झुक्याएको बताएका छन्। पाउनुपर्ने पैसो नपाएपछि ॠण-पान गरेर बिरामी डिस्चार्ज गराएँको त्यो अवस्था दर्दनाक रहेको उनको अनुभव छ । भुक्तानी समयमा नपाउने, काममा मात्र दलिनुपर्ने भएपछि काम छोडेर अर्को मिडिया जोइन गरेको दुई महिना बित्न लाग्दा पनि पारिश्रमिकका लागि दिन-रात हात जोड्नु परेको उनले गुनासो गरेका छन् । ” पेसाले पत्रकार भन्न पनि लाज हुन्छ, अरूको पीडा लेख्ने हामी आफैं पीडा लुकाएर हिंड्न बाध्य छौं । अब पनि कति झुल्नु? झुलाउनेलाई पनि लाज हुनुपर्ने हो! लाज पनि लजाउनु पर्ने अवस्था छ, हाम्रो प्रकाशकज्यूसँग! ” उनी बताउछन ।
कोशी अनलाइनबाट डेढ लाख रकम पाउनु पर्ने दाबी गर्दै आएका हरि बहादुर खड्का अझै पनि श्रम कार्यालयमा धाइरहेका छन्। श्रम कार्यालयमा उनले उजुरी दिएपछि कार्यालयले कोसी अनलाइनलाई तलब भुक्तानी दिन निर्देशन दिएको थियो। तर, अनलाइनका सञ्चालकले उनीविरूद्ध उच्च अदालत विराटनगरमा उल्टै मुद्दा हालेका थिए। उच्चले पनि खड्काले के कति सुविधा रकम पाउने हो पुन: निर्णय गर्न भनि श्रम तथा रोजगार कार्यालय विराटनगरको नाममा परमादेशको आदेश जारि गरेको थियो । श्रम कार्यालय हुँदै कोसी अनलाइनमा त्यसको जानकारी पुगिसकेको छ।यति दिन्छु उति दिन्छु भन्दै खड्काले कहिले बार्गेनिङ गर्ने कहिले पैसा दिदिन भन्ने गरिरहेका छन् । पिडित हरी बहादुर खड्काले मासिक १८ हजार पाउने मौखिक सहमति अनुसार काम गरेका थिए । तलब नपाएपछि काम छाडेका उनलाई पछि प्रभात खड्काले आफ्नो स्टाफ नभई एजेन्ट मात्र रहेको बताएका थिए ।
कोशी अनलाइनलाई कर्मचारीले नियुक्ति पत्रको माग गर्दा पनि नियुक्ति पत्र नदिने र तलब माग गर्दा पनि आलटाल गर्ने गरेको पुर्व कर्मचारीहरुको भोगाइ रहेको छ । मिडिया हाउसको व्यवहारले कर्मचारीहरुले पनि सम्मानजनक रुपमा बहिर्गमन हुन नसकेको उनीहरुले बताएका छन्। हाल कार्यरत कर्मचारीहरुले पनि महिनौदेखि तलब पाएका छैनन् ।