तेह्रथुम — तेह्रथुम जिल्लालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाका कपडाको राजधानी घोषणा गरेको छ।
म्याङलुङ नगरपालिकाले अयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन् ।
यसअघि पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको मन्त्रालयले पाल्पा र तेह्रथुमलाई ढाका कपडा राजधानी घोषणा गर्ने कार्यक्रम चालु आर्थिक वर्षको कार्यक्रममा राखेको थियो।
घोषणा पश्चात तेह्रथुमको ढाका कपडा गुणस्तरीय र प्रसिद्ध भएपनि कपडाको बजारीकरणमा सरकारको ध्यान पुगेको नपाइएको मन्त्रालयका सचिव पोखरेलले बताएका छन्। ढाका कपडालाई निर्यातयोग्य वस्तुका रूपमा अघि बढाएर लैजाने कार्यक्रम राखिएको सचिव पोखरेलको भनाइ छ । म्याङलुङ नगरपालिकाका प्रमुख संजय कुमार तुम्बाहाङफेले ढाकाको राजधानी घोषणापछि मन्त्रालय वा अन्य दातृ निकायबाट कार्यक्रम गर्न पनि सहज हुने जनाएका छन।
घोषणापछि राष्ट्रियस्तरको मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि ढाका कपडाको पहिचान पुर्याउन अझ बढी सहयोग पुग्ने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए ।
तेह्रथुम हाते तानबाट बुनिने ढाका कपडाको लागि प्रसिद्ध मानिन्छ ।